इटहरी । ताप्लेजुङ विमानस्थल सुकेटारमा साढे तीन महिनापछि उडान भएको छ । सोमबार नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले उडान गरेको हो ।
मौसम खुलेसँगै निगमले ताप्लेजुङ विमानस्थलमा उडान सुरु गरेको हो । काठमाडौँदेखि १३ जना यात्रु लिएर निगमको ट्विनअटर जहाज ताप्लेजुङ आएको हो । यहाँदेखि पाँच जना यात्रु लिएर जहाज काठमाडौँ फर्किएको छ । बर्खायामसँगै मौसम प्रतिकूल भएपछि गत जेठ २२ गतेदेखि उडान ठप्प बनेको थियो । यसबिचमा निगमको उडान तालिका रहे पनि उडान भने सञ्चालन हुन सकेको थिएन । यात्रुले टिकट लिँदै जहाज कुर्दै सेवा लिन नपाई फर्किनुपर्ने अवस्था बनेको थियो ।
असोज १२ गते सोमबार भने उडान भएसँगै अब नियमित उडान सञ्चालन हुनेमा यात्रु ढुक्क बनेका छन् । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएको पर्यटकीय मौसमसमेत सुरु भइसकेकाले नियमित उडान भएमा यात्रुलाई सुविधा हुने छ । यता मौसममा आएको सुधार कायम रहेमा नियमित उडान हुने ताप्लेजुङस्थित निगमको स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले बताउनुभयो । स्टेसन इन्चार्ज कार्कीका अनुसार मौसम प्रतिकूलताकै कारण सुकेटारमा हालसम्म उडान हुने सकेको थिए । सुकेटार विमानस्थलमा एकमात्र नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्ने गरेको छ ।
यात्रु भाडा दर भने काठमाडौदेखि ताप्लेजुङको प्रतिव्यक्ति १२ हजार २७० रुपियाँ र ताप्लेजुङदेखि काठमाडौंका लागि १२ हजार ७० रुपियाँ रहेको निगमले जनाएको छ । यसअघि सेप्टेम्बरका लागि साताको सोमबार एकदिन उडान तालिका रहेको थियो । अब अक्टोबरदेखि भने साताको सोमबार, बिहीबार र शनिबार उडान हुनेगरी तालिका परिवर्तन भएको ताप्लेजुङ नागरिक उड्डयन कार्यालयका प्रमुख दिलिपकुमार राजबंशीले जानकारी दिनुभयो ।


