इटहरी। माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सोमवार  बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पाँचथरका चालक खेमराज मगरसहित मनकुमारी लावती, उनकी १२ वर्षीया छोरी लामसिमी लावती, २३ महिनाका छोरा लाम्सेमा लावती र जनक तामाङ घाइते भएका छन्।

घाइतेमध्ये १२ वर्षीया लामसिमीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।