इटहरी । लायन्स क्लब अफ इटहरी पाथीभरा र लियो क्लब अफ इटहरी पाथीभराको संयुक्त आयोजनामा डिजिटल लाइफस्टाइल एन्ड सेक्युरिटी अवेयरनेस ट्रेनिङ कार्यक्रम इटहरीस्थित कस्तुरी कलेजमा सम्पन्न भएको छ ।
लियो क्लब अफ इटहरी पाथीभराका अध्यक्ष आयुष ढुंगेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कस्तुरी कलेजका प्रिन्सिपल भूपेन्द्र न्यौपाने, लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सीका रिजन चेयरपर्सन अमरदीप पौडेल, साइकोसोसल काउन्सिलर तथा पत्रकार मौसम कोइराला लगायत लियो सदस्य तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कस्तुरी कलेजका प्रिन्सिपल भूपेन्द्र न्यौपानेले यस्ता प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रमले विद्यार्थीको ज्ञान, क्षमता र व्यवहारिक दक्षता विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो।
उहाँले डिजिटल प्रविधिको बढ्दो प्रयोग सँगै यसको सुरक्षित, जिम्मेवार र सचेत प्रयोग सम्बन्धी ज्ञान विद्यार्थीका लागि अत्यावश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रमकी फ्यासिलिटेटर प्रेक्षा आचार्यले डिजिटल जीवनशैली, साइबर सुरक्षा, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा अनलाइन जोखिमबाट बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिनुभयो।
उहाँले डिजिटल माध्यम प्रयोग गर्दा व्यक्तिगत सूचना तथा गोपनीयताको सुरक्षा, सुरक्षित पासवर्डको प्रयोग र अनलाइन गतिविधिमा आवश्यक सावधानी अपनाउनुपर्ने विषयमा सहभागीलाई जानकारी गराउनुभयो। कार्यक्रमको सञ्चालन लियो क्लब अफ इटहरी पाथीभराकी सचिव दीक्षा घिमिरेले गर्नुभएको थियो। प्रशिक्षणमा विद्यार्थी तथा लियो सदस्यहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।


