इटहरी । एन आई सी एशिया क्यापिटल र बिराट एग्री लिमिटेडबिच सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ।
क्यापिटलको ‘आइडिया टु आइपिओ सेवा अन्तर्गत बिराट एग्रीलाई आवश्यक सम्पूर्ण संस्थागत परामर्श सहित बिक्री प्रबन्धक नियुक्त गरिएको हो। इटहरी–१३, सुनसरीमा मुख्य कार्यालय रहेको बिराट एग्रीले मोरङ र सुनसरी जिल्लामा १ सय हेक्टर भन्दा बढी क्षेत्रका १५० वटा पोखरी मार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ । कम्पनीले हाल इटहरी–१३ खनारस्थित उद्योगबाट दैनिक २५ टन उत्पादन क्षमताको अत्याधुनिक प्लान्ट मार्फत माछाको दाना उत्पादन तथा बिक्री गर्दै आएको छ ।
सर्वसाधारणमा शेयर निष्कासन गरी प्राप्त पूँजीलाई कम्पनीले उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि र व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने जनाएको छ। यस अन्तर्गत पाङ्गास माछा प्रशोधन गरी फिलेट बनाउने प्लान्ट तथा पशुपक्षी र माछाका लागि दैनिक १० टन क्षमताको आधुनिक पेलेट फिड प्लान्ट स्थापना गर्ने लक्ष्य लिइएको छ। ‘फार्म टु मार्केट’ अवधारणा अनुसार दाना उत्पादन, माछा पालन, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एकीकृत गरी आयात प्रतिस्थापन र रोजगारी सिर्जनामा योगदान पु¥याउने कम्पनीको दीर्घकालीन योजना रहेको छ ।


