इटहरी । आगामी चाडबाडलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका पसलहरूमा बजार अनुगमन कार्यलाई तीव्र पारेको छ।
खाद्यवस्तुको मूल्यमा एकरूपता नभएको र म्याद नाघेका सामग्री बिक्री भइरहेको जनगुनासो बढेपछि उपभोक्ताको अधिकार सुनिश्चित गर्न नगरपालिकाले यो कदम चालेको हो। नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा खटिएको अनुगमन टोलीले मङ्गलबार बराहक्षेत्र नगरपालिका वडा नं ९ स्थित राजावास बजार र वडा नं ११ को मधुवन क्षेत्रका किराना, होटल, हार्डवेयर तथा फेन्सी पसलहरूको सुक्ष्म निरीक्षण गरेको छ।
अनुगमनका क्रममा उपभोक्ताले पाउनुपर्ने गुणस्तरीय वस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाण, पसल दर्ता प्रक्रिया र किचन क्षेत्रको सरसफाइ जाँच गरिएको थियो। सो क्रममा नियमविपरीत म्याद नाघेका सामग्री राख्ने व्यापारीहरूलाई सचेत गराउँदै जरिमाना गरिएको छ भने अखाद्य वस्तु नष्ट र ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला नियन्त्रणमा लिइएको उपप्रमुख सुनुवारले बताउनुभयो । बजारमा उपभोक्ता हितविपरीतका कार्य रोक्न अनुगमनलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने प्रशासन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिनुभयो ।
उक्त अनुगमन टोलीमा उपप्रमुख सुनुवार र प्रशासन प्रमुख तिवारी सहित राजश्व शाखा प्रमुख संगिता चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य अनुसन्धान अधिकृत उज्वल कोइराला, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।


