इटहरी । मोरङको सुन्दरहरैँचा–६ स्थित खर्साने चोकमा सिद्धार्थ युवा क्लबको आयोजना तथा कोशी आँखा अस्पताल प्रा.लि. इनरुवाको सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। 

शिविर मार्फत स्थानीय करिब ५ सय जना नागरिकले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्। शिविरमा मुख्यतया आँखा परीक्षण, रक्तचाप तथा मधुमेहको जाँच गरिएको थियो। आँखामा समस्या देखिएका बिरामीहरूलाई चिकित्सकीय परामर्शका साथै सहुलियत दरमा चस्मा समेत उपलब्ध गराइएको छ।

आर्थिक अवस्था कमजोर भएका र अस्पताल सम्म पुग्न कठिनाइ भोगिरहेका स्थानीयवासीलाई लक्षित गरी घरदैलोमै स्वास्थ्य सेवा पु¥याइएको हो। सिद्धार्थ युवा क्लबका अध्यक्ष सञ्जित राईका अनुसार शिविरका क्रममा आँखाको अप्रेसन गर्नुपर्ने पहिचान भएका बिरामीहरूको निःशुल्क अप्रेसन गराइनेछ । अप्रेसनका लागि अस्पताल आवतजावत गर्दा लाग्ने सम्पूर्ण खर्चसमेत क्लबले नै व्यहोर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यसैगरी, क्लबका सल्लाहकार डम्बर थापा मगरले विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरूलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । स्थानीय युवाहरूको सक्रियतामा सम्पन्न यस शिविरले न्यून आय भएका परिवारलाई ठूलो राहत पु¥याएको छ। करिब ५ सय सर्वसाधारणको सहभागिताले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना र सेवाको आवश्यकता स्पष्ट भएको आयोजकको निष्कर्ष छ ।