इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ डाँडाखर्कमा रहेको लालीगुराँस दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८२÷८३ मा ३ करोड ५५ लाख २ हजार ८ सय ७ रुपैयाँ बराबरको कारोबार गरेको संस्थाका सचिव डम्बरबहादुर दाहालले जानकारी दिनुभयो । कार्यक्रममा लालीगुराँस नगरपालिकाकी उपप्रमुख तथा प्रमुख अतिथि जमुना मगर कार्कीले सहकारीले दुग्ध उत्पादन तथा किसानको हितमा प्रशंसनीय काम गर्दै आएको बताउनुभयो । उहाँले सहकारीको सम्पूर्ण टिमलाई धन्यवाद दिँदै लालीगुराँस नगरपालिका सदैव किसानको पक्षमा रहेको उल्लेख गर्नुभयो ।
साधारण सभा संस्थाका अध्यक्ष धनबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकाल, लालीगुराँस नगरपालिका–१ का वडाध्यक्ष दानबहादुर खड्का लगायत विभिन्न संघ–संस्था तथा सहकारीका प्रतिनिधि, स्थानीयवासी, दुग्ध उत्पादक किसान तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालले किसानलाई आर्थिक रूपमा समृद्ध बनाउने उद्देश्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले दुग्ध उत्पादनबाट किसानलाई थप आम्दानी दिलाउन उत्पादन लागत घटाउने र पशुपालनलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
ढकालले किसानलाई गाईको आहारा व्यवस्थापन सम्बन्धी आवश्यक ज्ञान तथा सीप प्रदान गर्न नसकिएकोमा दुःख समेत व्यक्त गर्नुभयो । उहाँले दुग्ध उत्पादन बढाउन गुणस्तरीय आहारा व्यवस्थापन महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा किसानलाई यस विषयमा थप जानकारी र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
साधारण सभाका अवसरमा दुग्ध उत्पादन क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने किसानलाई सम्मान समेत गरिएको छ । उत्कृष्ट किसानका रूपमा चन्द्रबहादुर खड्का, रामबहादुर तामाङ र टेकेन्द्र खड्कालाई प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको हो । सभामा सहकारीको आगामी योजना, दुग्ध उत्पादनको प्रवद्र्धन, दूध संकलन तथा बजारीकरणलाई थप प्रभावकारी बनाउने र किसानको आर्थिक अवस्था मजबुत बनाउने विषयमा छलफल भएको थियो । दुग्ध उत्पादक किसानलाई संगठित गर्दै स्थानीयस्तरमा दूध उत्पादन, संकलन तथा बजारीकरणमा सहकारीले भूमिका खेल्दै आएको जनाइएको छ। आगामी दिनमा किसानलाई आवश्यक प्राविधिक ज्ञान, पशु आहारा व्यवस्थापन तथा उत्पादन वृद्धि सम्बन्धी सहयोगलाई प्राथमिकतामा राख्ने बताइएको छ ।


