सृजना ठाकुर ,इटहरी । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारदाता तथा कामको खोजीमा रहेका युवालाई प्रत्यक्ष सम्पर्कमा जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा सातदिने ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ ।
‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस मेलाको युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शुभारम्भ गर्नुभएको हो। असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने यस मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाताका ७५ भन्दा बढी स्टलहरू राखिएका छन्।
कार्यक्रममा बोल्दै सभामुख अर्यालले युवाहरूलाई स्वदेशमै सीपयुक्त बनाई रोजगारीसँग जोड्नु र आत्मनिर्भर बनाउनु आजको मुख्य आवश्यकता भएको बताउनुभयो। शुभारम्भ समारोहमा विशिष्ट अतिथिका रूपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, उद्योग मन्त्री दीपककुमार साह, संघीय तथा प्रदेश सभाका सांसदहरू एवं प्रदेश सरकारका मन्त्रीहरूको सहभागिता रहेको थियो।

इटहरी, रामधुनी,बेलबारी , बर्जू लगायत पालिकाका प्रमुख, उपप्र्रमुख बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, वैदेशिक रोजगार बोर्ड र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकहरू लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मेला अवधिभर सहभागी हुन चाहने युवाहरूका लागि बिहान ८ः०० देखि ९ः४५ बजेसम्म नाम दर्ता तथा रजिष्ट्रेशनको व्यवस्था गरिएको छ । मेलामा युवाहरूले आफूले खोजेको काम, आवश्यक योग्यता, सीप र रोजगारदाताको मागबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
रोजगारदाताले पनि आफूलाई आवश्यक पर्ने जनशक्ति छनोट गर्न प्रत्यक्ष अन्तर्वार्ता र भेटघाटको प्रक्रिया अघि बढाउने मन्त्रालयका सचिव दिपक काफ्लेले बताउनुभयो। मेला रोजगारीको सूचना दिने थलोमा मात्र सीमित नभई सीप विकास र रोजगारको सम्पूर्ण प्रक्रियालाई एउटै ठाउँमा जोड्ने माध्यम बनेको छ। मेलामा रोजगारसम्बन्धी परामर्श, डिजिटल मार्केटिङ तथा एआईसम्बन्धी सीपमूलक तालिम, नवप्रवर्तन र उद्यमशीलतासम्बन्धी जानकारीका साथै १० विधाका छोटो अवधिका तालिमहरू सञ्चालन हुनेछन् ।


