इटहरी। गएको तीन वर्षमा नेपालबाट एक हजार ४४२ विदेशी नेपालबाट निष्कासित भएका छन् । निष्कासितमध्ये ‘भिसा अवधि सकिएपछि पनि नेपालमा बसेको कसुर’ मा सबैभन्दा धेरै विदेशी नागरिक निष्कासनमा परेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो । 

प्रवक्ता ढकालका अनुसार सन् २०२६ को चालु अवधिमा हालसम्म ४५१ जना विदेशी निष्कासनमा परेका छन् । गएको तीन वर्षको आकडा हेर्दा नेपालबाट निष्कासनमा पर्ने विदेशी नागरिकको सङ्ख्या प्रत्येक वर्ष बढिरहेको छ ।  सन् २०२५ मा ५२३ जना, सन् २०२४ मा ५०१ जना र सन् २०२३ मा ४५८ जना विदेशी नेपालबाट निष्कासित भएका थिए । सन् २०२५ मा निष्कासित ५२३ जनामध्ये ४५९ जना ओभरस्टे र ६४ जना विभिन्न मुद्दासम्बन्धी कारणले निष्कासनमा परेका थिए । सो वर्ष सबैभन्दा धेरै चीनका १२० जना, बङ्गलादेशका ७५ जना, अमेरिकाका ३५ जना, बेलायतका २२ जना र पाकिस्तानका १८ जना र बाँकी अन्य देशका नागरिक निष्कासनमा परेका थिए । 

त्यस्तै सन् २०२४ मा ५०१ जनामध्ये ४५१ जना ओभरस्टे र ५० जना विभिन्न मुद्दासम्बन्धी कारणले निष्कासित भएका थिए । सो वर्ष सबैभन्दा धेरै चीनका १४१ जना, अमेरिकाका ५४ जना, बङ्गलादेशका ५१ जना, पाकिस्तानका ३० जना र बेलायतका २१ जना नागरिक निष्कासित भएका छन् । अन्य विभिन्न देशका गरेर २०४ जना निष्कासनमा परेका थिए । सन् २०२३ मा ४५८ जना विदेशी नागरिक निष्कासित भएकोमा ४१२ जना ओभरस्टे र ४६ जना विभिन्न मुद्दाले निष्कासनमा परेका थिए । उक्त वर्ष चीनका २०९ जना नागरिक निष्कासित भएका थिए भने अमेरिकाका ३७ जना, बङ्गलादेशका १९ जना, उज्बेकिस्तानका १९ जना र बेलायतका १८ जना थिए । अन्य देशका १५६ जना निष्कासित भएका थिए । तीन वर्षको आकडाले नेपालबाट निष्कासनमा पर्ने विदेशी नागरिकमध्ये भिसा अवधि सकिएपछि पनि नेपालमा बस्ने ९ओभरस्टे० नागरिकको सङ्ख्या सबैभन्दा धेरै रहेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ । तीन वर्षमा ओभरस्टेका कारण मात्रै एक हजार ३२२ जना विदेशी निष्कासित भएका थिए । 

विभागका प्रवक्ता ढकालका अनुसार सबैभन्दा धेरै ‘ओभरस्टे’ कसुरमा, त्यसपछि अभद्र व्यवहारको मुद्दा, राजस्व चुहावट, विदेशी मुद्रा अपचलन, लैङ्गिक हिंसा, सङ्गठित अपराध र ठगीका कसुरमा विदेशी नेपालबाट निष्कासनमा पर्ने गरेका छन् । नेपाल अध्यागमन ऐन, २०४९ का अनुसार नेपालमा पर्यटक भिसामा १५० दिनभन्दा बढी बस्न पाइँदैन । सोभन्दा बढी समय बस्ने वा भिसाको उद्देश्यविपरीतको काम गरेर नेपालमा बस्ने गरेका विदेशी सबैभन्दा बढी निष्कासित हुने गरेको अध्यागमन विभागका प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

‘ओभरस्टे’ कसुरमा समातिएका विदेशीलाई भिसा विलम्बबापतको शूल्क र ५० हजार रुपियाँसम्म जरिबाना गरेर उनीहरूकै देशमा फर्काइदिने गरिएको ढकालले जानकारी दिनुभयो । यदि कुनै विदेशीले जरिबाना तिर्न सक्दैन भने जेल चलान गरी दैनिक तीन सय रुपियाँ जरिबाना रकम घटाउँदै जाने गरिएको छ । कैद भुक्तानबाट जरिबाना फस्र्योट भएर पनि आफ्नो देशमा फर्किनका लागि कुनै विदेशी हवाई टिकट खरिद गर्न असमर्थ भए सम्बन्धित देशको दूतावासको समन्वयमा उसलाई स्वदेश फर्काउने गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।