इटहरी स् मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा बुधबार सिलबन्दी गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले चारआली र धुलाबारी क्षेत्रमा मापदण्डविपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो। चारआलीस्थित मनोकामना अस्पताल र धुलाबारीस्थित शिखर अस्पतालले एक वर्षदेखि नवीकरण नगरी सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए।

‘मनोकामना अस्पताललाई दर्ता र नवीकरणका लागि यसअघि नै पटकपटक पत्राचार गरिएको थियो, तर बेवास्ता गरेपछि कारबाही गर्नुपरेको हो,’ श्रेष्ठले भने। त्यसैगरी, धुलाबारीमा सञ्चालित प्रतिभा जमुना मेडिकल र न्यू मिलन मेडिकलले प्रयोगशाला ९ल्याब० र क्लिनिक दर्ता नगरी सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको छ।

प्रतिभा जमुना मेडिकलबाट म्याद गुज्रिएका औषधि फेला परेपछि ती औषधि जफत गरिएको छ। यस्तै, रोहन मेडिकल र मनकामना फार्मेसीबाट पनि म्याद गुज्रिएका औषधि भेटिएका छन्। ती औषधि बरामद गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार कानुनविपरीत सञ्चालन भएका स्वास्थ्य संस्थालाई स्थानीय पालिकाले जरिवाना गर्नेछ। फार्मेसी सञ्चालकलाई थप कारबाहीका लागि औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरमा पत्र पठाइने उनले बताए। स्वास्थ्य संस्था, क्लिनिक र प्रयोगशालाले कानुनअनुसार विधिवत् रूपमा दर्ता गरेपछि मात्र सिलबन्दी खोलिने श्रेष्ठले बताए।