इटहरी। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै उदयपुरमा जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिले बुधबार गाईघाटस्थित कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै विभिन्न खेल विधाबाट जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो।

कर्णाली प्रदेशको सुर्खेतमा आगामी २०८३ मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उदयपुरबाट विभिन्न खेल विधाका खेलाडी छनोट गरिनेछ। जिल्लास्तरीय छनोटबाट उत्कृष्ट ठहरिएका खेलाडी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने र प्रदेशबाट छनोट भएपछि राष्ट्रिय प्रतियोगितामा उदयपुरको प्रतिनिधित्व गर्नेछन्। जिल्ला खेलकुद विकास समितिका अनुसार जिल्लास्तरीय छनोट प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले २०८३ असोज १९ गतेभित्र खेलाडी फारम भरिसक्नुपर्नेछ। जिल्लामा कुल ३२ खेल विधामा खेलाडी छनोट गरिने समितिले जनाएको छ।

समितिका कार्यालय प्रमुख प्रकाशराम राईका अनुसार जिल्लास्तरीय छनोट प्रक्रियामा ३४४ पुरुष र ३१२ महिला गरी कुल ६५६ खेलाडी सहभागी हुनेछन्। अधिकांश खेलको छनोट प्रतियोगिता सदरमुकाम गाईघाटमै सञ्चालन गर्ने तयारी गरिएको छ। यद्यपि खेलको प्रकृति र भौगोलिक अवस्थाअनुसार केही खेलको छनोट प्रतियोगिता सदरमुकामबाहिर समेत सञ्चालन गरिनेछ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धिरज खड्काले स्थानीय तहबाट खेलाडी छनोट र खेलकुद क्षेत्रको विकासमा अपेक्षाअनुसार सहयोग हुन नसकेको बताए। खेलाडी उत्पादनदेखि उनीहरूको क्षमता विकास र प्रतियोगितामा सहभागितासम्म स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै उनले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर थप सहयोग र सहकार्य गर्न स्थानीय तहसँग आग्रह गरे।

उनले जिल्लामा रहेका प्रतिभावान् खेलाडीलाई अवसर प्रदान गर्दै प्रदेश हुँदै राष्ट्रियस्तरको प्रतियोगितासम्म पुर्‍याउने उद्देश्यले छनोट प्रक्रिया अघि बढाइएको बताए। समितिले जिल्लाका सबै स्थानीय तह, खेलाडी, प्रशिक्षक, खेलकुद संघ तथा खेलसँग सम्बन्धित सरोकारवाला निकायलाई छनोट प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। प्रतियोगिताले जिल्लामा रहेका नयाँ खेल प्रतिभाको पहिचानसँगै उनीहरूलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।