इटहरी। कोशी प्रदेशको पर्यटकीयस्थल भेडेटारमा आगामी असोज २४ गतेदेखि चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
भेडेटार ब्याडमिन्टन क्लबको आयोजनामा साँगुरीगढी गाउँपालिका–६, भेडेटारस्थित ब्याडमिन्टन हलमा प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ । प्रतियोगितामा महिला डबल्स प्रोमिन्स–१ ओपन, प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्स र भेट्रान राष्ट्रिय डबल्स गरी तीन विधामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष दिपेन लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्सतर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार तथा तेस्रोलाई ७ हजार रुपियाँ पुरस्कार राखिएको छ ।
त्यस्तै, महिला डबल्स तर्फ प्रथम हुनेले २० हजार, दोस्रोले १० हजार तथा तेस्रोले ५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, भेट्रान राष्ट्रिय डबल्सतर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई १५ हजार तथा तेस्रो हुने जोडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलन गरी जानकारी दिइयो । प्रतियोगितामा नेपालका विभिन्न स्थानका खेलाडीसहित भारतको सिलगुडी र सिक्किमबाट समेत सहभागिता रहने जनाइएको छ ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले ब्याडमिन्टन खेल पछिल्लो समय लोकप्रिय बन्दै गएकाले विभिन्न वडा र स्थानमा कभर्डहल निर्माण गरिरहेको बताउनुभयो । त्यस्तै, भेडेटारको पर्यटकीय गतिविधिमा खेल क्षेत्रबाट सहयोग पुग्नेसमेत उहाँले बताउनुभयो ।


