इटहरी । सुनसरीको इटहरीस्थित इम्पेरियल पार्टी प्यालेसमा ६÷११ गोर्खा राइफल्सको ६४ औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ ।
१९६३ साल १ महिना १० गते स्थापना भएको गोर्खा राइफल्समा सेवा गरेका भूपू सैनिक तथा सम्बन्धित व्यक्तित्वहरूको सहभागितामा सो उत्सव आयोजना गरिएको हो। हवल्दार खगेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा सुबेदार जाहानसिंह राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको संयोजन सुबेदार डम्बरकुमार लिम्बू (डिके लिम्बू) ले गर्नुभएको थियो भने सञ्चालन सुबेदार रुद्रबहादुर राईले गर्नुभएको थियो।
लामो समयपछि एउटै थलोमा भेला भएका पूर्वसहकर्मीहरूले गोर्खा राइफल्समा सँगै बिताएका अविस्मरणीय क्षण, अनुभव र सम्झनाहरू आदानप्रदान गर्दै आपसी सम्बन्धलाई थप प्रगाढ बनाएका थिए । समारोहमा संस्थालाई आर्थिक तथा अन्य माध्यमबाट योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरूका साथै गोर्खा राइफल्सको इतिहास र परम्परासँग जोडिएका पुर्खाहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रम संयोजक डिके लिम्बूले भौगोलिक दूरी र व्यस्तताका कारण टाढिएका पूर्वसहकर्मीहरूबीच सद्भाव बढाउन र सेवा निवृत्ति पछिको आत्मीयतालाई निरन्तरता दिन भेटघाट आयोजना गरिएको बताउनुभयो। सहभागीहरूले आगामी दिनमा पनि संस्थासँग आबद्ध सबैलाई एउटै भावनामा जोड्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।


