इटहरी। झडपपछि स्थगित नेपाली कांग्रेस मोरङ क्षेत्र नं। ६ को क्षेत्रीय अधिवेशन प्रक्रिया शुक्रबारदेखि पुनः सुरु भएको छ। अधिवेशन सम्पन्न गराउने जिम्मेवारी जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई दिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिको निर्णय तथा पार्टी विधानअनुसार क्षेत्र नं। ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी मण्डललाई दिएको हो। निर्वाचन समितिसँग समन्वय गरी प्रक्रिया अघि बढाउन निर्देशन पाएपछि मण्डलले शुक्रबार बिहानदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्नुभएको छ। निर्वाचन मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीस्थित राजवंशी खवास सामुदायिक भवनमा भइरहेको छ। यसअघि तय गरिएको सुन्दरहरैँचा–४ को स्थान परिवर्तन गरी नयाँ स्थानमा निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

मण्डलले सबै पक्षसँग समन्वय गरी सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको बताउनुभएको छ। यसअघि बुधबार सुन्दरहरैँचा–४ स्थित सिग्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताअघि विवाद हुँदा झडप भएको थियो। घटनामा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, नेता चेतराज रेग्मीलगायत घाइते भएका थिए भने कार्यक्रमस्थलमा तोडफोडसमेत भएको थियो। झडपपछि निर्वाचन प्रक्रिया रोकिएको थियो।

घटनापछि कांग्रेसभित्र आरोप–प्रत्यारोपसमेत चर्किएको छ। सहमहामन्त्री डा। डिला संग्रौलाले क्षेत्रीय सभापति देवराज तामाङको योजनामा आक्रमण भएको आरोप लगाउनुभएको थियो। तामाङले भने आरोप अस्वीकार गर्दै घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको दाबी गर्नुभएको छ। अधिवेशन प्रक्रिया पुनः सुरु भए पनि तामाङ पक्षले पत्रकार सम्मेलन गरी सहमति नगरी एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाइए सहभागी नहुने जनाएको छ। कांग्रेसले भने झडपपछि अधिवेशन सम्पन्न गर्न मण्डललाई नयाँ संयोजकको जिम्मेवारी दिएको हो।