इटहरी। उदयपुर जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुनर्निर्माण भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा मौलिक पहिचान बोकेको यो ऐतिहासिक स्थलकोे पुनर्निर्माण भएपछि गढीले आफ्नो वास्तविक आकार लिएको हो । उदयपुरगढी गाउँपालिकाको हालको केन्द्रदेखि करिब एक किलोमिटर उत्तरमा रहेको पुरानो गढीमा २५० वर्षभन्दा अघिको ध्वस्त भग्नावशेषलाई गाउँपालिकाले पुनर्जीवन दिएर पुनर्निर्माण गरेपछि चिटिक्क भएको यो सुन्दर गढी यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ ।
पुनर्निर्माण गरिएको यस गढीमा तत्कालीन सैनिक बङ्कर, कोतखाना, युद्धपोत, तत्कालीन राजा उदय सेनले चढ्ने गरेको घोडा तथा अन्य सुरक्षा संयन्त्रको ध्वस्त संरचनालाई पुनर्जीवन दिएर गढीको केन्द्र भागमा भगवतीको मन्दिरसमेत राखेर नियमित पूजा गरिँदै आएको उदयपुरगढी गाउँपालिकाले जनाएको छ । पृथ्वीनारायण शाहको फौजी कारबाही कालको इतिहास झल्काउँदै पर्यटन विकास गर्ने उद्देश्यले गाउँपालिकाले त्यहाँ रहेको पुरानो गढीलाई पुनर्निर्माणको योजना अगाडि सारेकोमा गाउँपालिका र पर्यटन मन्त्रालयकोे दुई करोड ७५ लाख रकम खर्च गरेर उक्त गढीको पुनर्निर्माण गरिएको उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो ।
पुरानो गढीवरिपरि १३० मिटर गोलो बङ्कर निर्माण गरी त्यसको बिचमा पाँच सय मिटर व्याससहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज ९अष्टकोण० आकारको गढीको निर्माण सम्पन्न भएको छ । बङ्कर नाघेर गढी ९अष्टकोण० क्षेत्र प्रवेश गर्न फलामे पुल लगाइएको छ भने गढीभित्र कोतखाना र इनारको निर्माण पनि सकिएको उदयपुरगढी गाउँपालिकाका इन्जिनियर सन्तोष राय थारूले बताउनुभयो । गढीको चारैतिर बाहिरी घेरामा छ फिट र भित्री घेरामा १४ फिट उचाइको ढुङ्गा कँुदेर बनाइएको ब्लकको गारो लगाएर बङ्कर पुनर्निर्माण गरिएको छ । कोत खाना, इनारसँगै त्यहाँ बगैँचा पनि बनाइकोे र गढी घुम्न आउने आगन्तुकको सहजताका लागि सार्वजनिक शौचालय, कार्यव्रmम स्थल ९मञ्च०, फलामे भ्यु टावरको निर्माण भइसकेको सबइन्जिनियर गौतम पराजुलीले बताउनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईका अनुसार गढीपरिसरमा प्राचीन गढी झल्काउने गरी काँचो ढुङ्गा चिल्लो र निश्चित आयाताकारमा ढालेर त्यसलाई कलात्मक बनाएर जडान गरिएको, निर्माण कम्पनीले आधुनिक मेसिन उपकरणको सहयोगमा ढुङ्गा मठारेर आकर्षक बनाएर प्रयोगमा ल्याएकाले अहिले यो गढी हेर्न अत्यन्तै सुन्दर र आकर्षक देखिएको छ ।
छ वर्षअघि नेपाल सरकारले देशका एक सय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढीलाई पनि समेटेको थियो । तत्कालीन सरकारले ‘पर्यटन वर्ष २०२०’ घोषणा गर्दै सय गन्तव्यभित्र पारेपछि गाउँपालिकाले उदयपुरगढीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न पुरानो गढी पुनर्निर्माणको योजना अघि सारेको थियो । २५० वर्षअघि बाइसेचौबिसे राज्यमध्ये एउटा राज्य रहेको उदयपुरगढी र चौदण्डीगढीलाई शाहवंशीय राजा पृथ्वीनारायण शाहका सेनाले नेपाल एकीकरणका क्रममा कब्जा गरेको इतिहास लेखक कौशल चेम्जोङ बताउनुहुन्छ । पूर्वबाट किराँत वंशका वल्लो किराँत, पल्लो किराँत र माझ किराँत कब्जा गर्दै आएका पृथ्वीनारायण शाहका सेनाले राज्य एकीकरणका बेला विजयपुरगढी, हतुवागढी र चौदण्डीगढी कब्जा गर्ने क्रममा उदयपुरगढीमा युद्धपोत स्थापना गरेर लडाइँ गरेको इतिहास रहेको उदयपुरकै इतिहास लेखक चेम्जोङले बताउनुभयो । यो गढी नेपालटारस्थित मदनभण्डारी राजमार्गबाट करिब आठ किलोमिटर उत्तरमा छ । सडक पहुँच भएकाले सर्वसाधारणलाई घुम्न जान पनि सहज हुने उदयपुरगढी गाउँपालिकाले जनाएको छ ।


