इटहरी। पितृको उद्धार हुने धार्मिक विश्वासका कारण सुनसरीको धरान उपमहानगरपालिका २० नम्वर वडामा रहेको विष्णुपादुका मन्दिरमा पितृश्राद्ध तथा पूजाआराधनाका लागि दैनिक श्रद्धालु श्राद्ध गर्न आउने गर्नुभएको छ  । नेपाल सहित भारत र भुटानबाट समेत श्रद्धालु आउने गरेको बताइएको छ । धार्मिक आस्थाका कारण प्रसिद्ध यस मन्दिर क्षेत्रमा श्रद्धा गरे पितृहरूको उद्धार हुने विश्वासका साथ पितृश्राद्ध गर्न आफन्तहरु विष्णुपादुका मन्दिर आउने गर्नुभएको हो ।

विष्णुको पाउ रहेको पवित्र तीर्थस्थलका रूपमा मानिने यस क्षेत्रमा श्राद्ध गरे पितृहरूले मुक्ति पाउने धार्मिक विश्वास रही आएको छ । कोकाको जल अर्पण गर्दा पितृको उद्धार हुने धार्मिक विश्वासका साथ श्राद्ध गर्न आफन्त आउने गरेको मन्दिरका मुख्य पुजारी इमानसिंह तामाङ्गले बताउनुभयो । उहाँका अनुसार काशी र गयामा हजारौँ पटक श्राद्ध गर्दा पनि मुक्ति नपाएका पितृले विष्णुपादुकामा एक पटक जल अर्पण गर्दा पितृहको उद्धार हुने धार्मिक मान्यता छ । यही विश्वासका कारण भारतको दार्जिलिङ, सिक्किम लगायत नेपालका शहर र गाउँबाट आफन्त गुमाएका परिवार आउने गर्नुभएको छ ।

पुजारी तामाङ्गका अनुसार मन्दिरमा विभिन्न स्थलबाट दैनिक पितृश्राद्ध गर्न आउने गर्नुभएको छ । सामान्य दिनभन्दा औँसी र चौथीका दिन श्राद्ध गर्नेको बढीे चहलपहल हुने गरेको उहाँले बताउनुभयो । मन्दिरमा पौखे औँसीका दिन विशेष पिण्डदान तथा तीर्थश्राद्ध मेला लाग्ने गरेको छ । विदेशमा रहेका र विभिन्न कारणले पितृको तिथि थाहा नपाएका व्यक्तिका लागि समेत पौखे औँसीमा श्राद्ध गर्न सकिने धार्मिक मान्यता रहेकाले हजारौको संख्यामा तीर्थश्राद्ध गर्न आफन्तहरु आउने गरेको बताइएको छ । पौखे औँसीको अघिल्लो दिन साँझदेखि नै श्राद्ध गर्न आफन्त आउने गरेको स्थानीय मदन तामाङ्गले बताउनुभयो ।  मन्दिरमा रातभरी भजनकीर्तन गर्ने र विहान सबेरै देखिनै श्राद्ध गर्ने परम्परा रहिआएको छ । 

विष्णुपादुका मन्दिरको पौराणिक महत्व

धरानको मङ्गलबारेबाट भञ्ज्याङ हुँदै करिब १२ किलोमिटरको दूरीमा रहेको मन्दिर कोकाहा नदीको किनारमा छ । विष्णुपादुका मन्दिरको धार्मिक तथा पौराणिक महत्व रहेको ब्राह्मण समाज, सुनसरीका अध्यक्ष वासुदेव बरालले बताउनु भयो । भगवान विष्णुले पितृलाई आफूले पृथ्वी र वेदको उद्धार गर्दा सबै खुसी भए पनि उहाँहरू किन दुःखी र मलिन भएको भन्दै प्रश्न गर्नुभएको पौराणिक कथामा उल्लेख छ ।  त्यस क्रममा पितृले चन्द्रमाको श्रापका कारण आफूहरू पतालमा परेको र आफ्नो उद्धार कसले गर्ने भन्ने चिन्ता व्यक्त गरेको बताइन्छ ।

पितृहरूको कुरा सुनेपछि भगवान विष्णुले उनीहरूको उद्धार कसरी हुन्छ र त्यसको विधि के हो भनेर सोध्नुभएको थियो । त्यसमा पितृहरूले भगवान विष्णुले लक्ष्मीसहित विष्णुपादुका क्षेत्रमा श्राद्ध गरेमा आफूहरूको उद्धार हुने कुरा बताएको धार्मिक मान्यता रहेको अध्येता बरालले बताउनुभयो । वराहपुराणको अध्याय १४० मा समेत कोकामुख तीर्थको छेउमा विष्णुपादुका अर्थात विष्णुपद नामको पवित्र स्थान रहेको उल्लेख गरिएको उहाँको भनाइ । उक्त स्थानमा भगवान विष्णुको मूर्ति रहेको र त्यस मूर्तिको दर्शन गर्नेले उत्तम फल प्राप्त गर्ने उल्लेख वराहपुराणमा गरिएको उहाँले बताउनुभयो ।  वराहपुराणमा उल्लेख रहेको अध्येता बरालले बताउनुभयो । उहाँका अनुसार विष्णुपादुका केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई पितृ उद्धार, श्राद्ध तथा धार्मिक संस्कारसँग जोडिएको महत्वपूर्ण तीर्थस्थलका रूपमा समेत रहेको बताई छ ।

चार पुस्तादेखि पूजा

स्थानीय धार्मिक विश्वासअनुसार विष्णुपादुका मन्दिरको इतिहास विक्रम संवत १९७० सालसँग जोडिएको बताइ छ । मन्दिरको पुख्र्यौली विवरणअनुसार स्वर्गीय लक्ष्मण तामाङ्ग धामीले उक्त स्थान पत्ता लगाउनुभएको बताइन्छ । धामीले गाउँमा चिन्ता बस्ने क्रममा विष्णु भगवानको पाउ कुँदिएको शिला रहेको स्थानमा उत्खनन गरी पूजा गरे विश्वको कल्याण हुने सन्देश पाएको र त्यसपछि स्थानीयको सहयोगमा शिला निकालेर पूजा सुरु गरिएको बताइन्छ । त्यसपछि लक्ष्मण तामाङ्गका छोरा जसमान तामाङ्ग र उहाँका छोरा चतुरमान तामाङ्गले पूजा अर्चना गर्दै आउनुभएको थियो । हाल चतुरमानका छोरा इमानसिंह तामाङ्ग मन्दिरको मुख्य पुजारी हुनुहुन्छ । ७५ वर्षीय तामाङ्गका अनुसार उहाँको परिवारले चार पुस्तादेखि मन्दिरको पूजा तथा संरक्षण गर्दै आउनु भएको छ । मन्दिरमा बिहान बेलुका नियमित पूजा हुने गरेको छ । पर्व तथा विशेष तिथिमा धरानलगायतका स्थानबाट गुरुहरू आएर श्राद्ध गराउने गरेको बताइएको छ । मन्दिरमा आउने भक्तजनका लागि अहिले बस्ने बेन्च, कुर्सी, ओछयाउने फर्म तथा भाँडाकुँडाको व्यवस्था रहेको पुजारी तामाङ्गले बताउनुभयो । भक्तजनले नै उपलब्ध गराएका सामग्री प्रयोग गरेर पूजा तथा श्राद्धको व्यवस्था मिलाइने गरिएको उहाँको भनाइ छ ।

धार्मिक महत्व बोकेको मन्दिरसम्म पुग्ने सडक र कोकाहा खोलामा पुल नहुँदा भक्तजन तथा स्थानीयले समस्या भोग्दै आएका छन् । मन्दिरमा आउने तिर्थालुहरुले बाटोघाटोको अवस्था सहज नभएको गुनासो गर्ने गरेको पुजारी तामाङले बताउनुभयो । अटो, टेम्पो र मोटरसाइकलबाट मन्दिरसम्म पुग्न सकिने भए पनि कोकाहा खोलाले आवतजावतमा समस्या पार्ने गरेको उहाँको भनाइ छ । कोकाहा खोलामा पुल बने र बाटो राम्रो भए टाढाटाढाबाट आउने भक्तजनलाई सहज हुन्थ्यो । उहाँले भन्नुभयो । सहज सडक नहुदा मन्दिरमा आउने धार्मिक पर्यटकहरुलाई सास्ती हुने गरेको बताइएको छ । मन्दिरको विकासलाई राजनीतिक दृष्टिकोणबाट नभई सबैको साझा धार्मिक सम्पत्तिका रूपमा हेर्नुपर्ने पुजारी इमानसिंह तामाङ बताउनु हुन्छ । उहाँका अनुसार धार्मिक स्थलको संरक्षण र पूर्वाधार विकासले स्थानीययको जीविकोपार्जनमा समेत सहयोग पुग्ने बताइएको छ । धरानको विष्णुपादुका क्षेत्र धार्मिक पर्यटनको सम्भावना बोकेको स्थान भए पनि सडक, पुल तथा आवश्यक पूर्वाधारको विकास हुन सके धार्मिक गतिविधिसँगै स्थानीय आर्थिक गतिविधि पनि सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।