इटहरी स् अर्गानिक चिया उत्पादनमार्फत पाँचथरलाई देश–विदेशमा चिनाउँदै आएकी उद्यमी शान्ता बास्कोटा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
कांग्रेस पाँचथरकी जिल्ला सदस्यसमेत रहेकी बास्कोटा १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले अब पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। पूर्वगृह राज्यमन्त्री दीपक बास्कोटाको राजनीतिक पृष्ठभूमि रहेको पाँचथरमा बास्कोटाले आफ्नै राजनीतिक र सामाजिक पहिचानसहित कांग्रेसको यात्रालाई निरन्तरता दिँदै आएकी छन्। व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी उनी अब आफ्नो अनुभवलाई पार्टीको केन्द्रीय राजनीतिमा उपयोग गर्ने तयारीमा छिन्।
बास्कोटा कञ्चनजंघा टी इस्टेट एन्ड रिसर्च सेन्टर ९प्त्भ्च्ऋ० की निर्देशक हुन्। फिदिमको पहाडी क्षेत्रमा अर्गानिक चिया, जडीबुटी तथा मसला उत्पादन, प्रशोधन र बजारीकरण गर्दै आएकी उनले ४१८ जना साना किसानलाई अर्गानिक खेतीसँग जोडेको संस्थागत विवरणमा उल्लेख छ। चिया बगान तथा कारखानामा करिब १५० जना श्रमिक कार्यरत छन्, जसमध्ये ८५ प्रतिशत महिला छन्। कञ्चनजंघा टी इस्टेटका उत्पादनले ल्ब्ब्क्ब्, व्ब्क् र ग्क्म्ब् लगायतका अर्गानिक प्रमाणपत्र प्राप्त गरेका छन्। संस्थाले जापान, जर्मनी, अमेरिका, क्यानडा तथा खाडी मुलुकलगायतका बजारमा उत्पादन पुर्याउँदै आएको छ।
महिला उद्यमशीलता र सामाजिक क्षेत्रमा योगदान पुर्याएबापत बास्कोटाले राष्ट्रिय महिला सेवा पुरस्कार, राष्ट्रिय चिया विकास पुरस्कार, राष्ट्रिय प्रदर्शनीमा विशेष पुरस्कार तथा नेपाल महिला उद्यमशीलता पुरस्कार प्राप्त गरेको संस्थागत विवरणमा उल्लेख छ। सन् २०२१ मा NewBiz Business Women Summit and Awards बाट उनलाई ‘Women Entrepreneur of the Year 2021’ सम्मानसमेत प्रदान गरिएको थियो। उनले २०८२ सालमा नयन मिडिया फाउन्डेसनले प्रदान गरेको ‘कोशी एक्सिलेन्स अवार्ड’ समेत प्राप्त गरिसकेकी छन्।
समाजशास्त्रमा स्नातकोत्तर गरेकी बास्कोटाले व्यवस्थापन, कृषि, मूल्य शृंखला, बजारीकरण, नेतृत्व तथा उद्यमशीलतासम्बन्धी राष्ट्रिय–अन्तर्राष्ट्रिय तालिम र सम्मेलनमा सहभागिता जनाएकी छन्। उनी गिरिजाप्रसाद कोइराला फाउन्डेसनको उद्यमशीलता विभागमा समेत निर्देशकका रूपमा आबद्ध छिन्। अब कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेसँगै बास्कोटाले आफ्नो उद्यमशीलता र सामाजिक क्षेत्रको अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्ने लक्ष्य अघि सारेकी छन्। महिला उद्यमशीलता, कृषि, किसानको आयआर्जन, स्थानीय उत्पादनको बजारीकरण र ग्रामीण अर्थतन्त्र उनका प्राथमिकताका विषय रहने बताइएको छ। पाँचथरको दुर्गम पहाडमा चियाको व्यवसायसँगै सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी बास्कोटाको आगामी राजनीतिक यात्रा अब कांग्रेसको केन्द्रीय नेतृत्वतर्फ केन्द्रित भएको छ।


