इटहरी। बुढेसकालमा आफ्नै छोराहरूको सहारा पाउनुपर्ने उमेरमा मोरङको रंगेली नगरपालिका–९ धनजुवाका महेन्द्र ऋषिदेव पाँच नातिनातिनाको भविष्यको चिन्ता बोकेर दिन काटिरहेका छन् ।

महेन्द्रका दुई छोरा १५ वर्षदेखि सम्पर्कविहीन छन् । वर्षौँदेखि बस्दै आएको घरसमेत डोजरले भत्काइएपछि अहिले उनी श्रीमती र पाँच नातिनातिनासहित सुरक्षित बास र दुई छाक खानाको खोजीमा छन् । महेन्द्रका छोराहरू केसीकुमार ऋषिदेव र दीपचन्द ऋषिदेव करिब १५ वर्षअघि रोजगारीका लागि भारत गएका थिए । भारत पुगेपछि दुवै छोरा घर फर्किएका छैनन् । लामो समयदेखि उनीहरूले फोनसमेत नगरेको महेन्द्रले बताए । ‘छोराहरू गएपछि अहिलेसम्म फर्किएका छैनन् । फोन पनि गर्दैनन्,’ महेन्द्रले भने ।

छोराको सहारा नपाएका महेन्द्रमाथि अहिले नातिनातिनाको जिम्मेवारी थपिएको छ । उनकी जेठी छोरी राधादेवी ऋषिदेव रोजगारीका लागि अन्यत्र छिन् । उनका श्रीमानको करिब दुई वर्षअघि भारतको पञ्जाबमा मृत्यु भएपछि राधादेवीका छोराछोरीको जिम्मेवारी महेन्द्रकै काँधमा आएको हो । आफ्नै आर्थिक अवस्था कमजोर भए पनि महेन्द्रले नातिनातिनाको पालनपोषणसँगै उनीहरूको शिक्षादीक्षा धानिरहेका छन् । उनकी नातिनी रेणु ऋषिदेव आमगाछिस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ८ मा र सोनु ऋषिदेव कक्षा ३ मा अध्ययनरत छन् । अन्य नातिनातिना सानै भएकाले घरमै रहने गरेका छन् ।

महेन्द्रकी कान्छी छोरी रुकमणि ऋषिदेवको विवाह भइसकेको छ । उनी अन्यत्र बस्दै आए पनि समय–समयमा बुवाआमाको हेरचाह गर्ने गरेको महेन्द्रले बताए । तर, अहिले महेन्द्रको परिवारसँग बस्नका लागि आफ्नै घरसमेत छैन । रंगेली–९ धनजुवामा ५० वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएको ऋषिदेव परिवारले देवीस्थानको करिब १३ घुर ऐलानी जग्गामा घर बनाएर जीवन बिताउँदै आएको थियो । त्यही ठाउँमा ऋषिदेव समुदायको दिनाभद्री मन्दिर निर्माण गर्ने योजना अघि बढेपछि परिवारलाई उक्त स्थान खाली गर्न आग्रह गरिएको थियो ।

स्थानीयस्तरबाट पटकपटक आग्रह गर्दा पनि घर नहटाएपछि नगरपालिकाले डोजर प्रयोग गरी घर भत्काएको रंगेली–९ का वडा अध्यक्ष चुडामणि रेग्मीले बताए । रेग्मीका अनुसार महेन्द्रलाई करिब दुई वर्षदेखि उक्त स्थान खाली गर्न पटकपटक आग्रह गरिएको थियो । तर, घर नहटाएपछि अन्ततः डोजर प्रयोग गर्नुपरेको उनले बताए । उक्त स्थानमा दिनाभद्री मन्दिर निर्माणका लागि स्थानीयस्तरमा करिब ६० हजार रुपैयाँ संकलन भइसकेको र सोही रकमबाट निर्माण कार्य सुरु गर्ने उद्देश्यले देवीस्थानको जग्गा खाली गराइएको रेग्मीले बताए । घर भत्किएपछि महेन्द्रको परिवार अहिले अर्काको जग्गामा बसेको छ । आफ्नै नाममा जग्गा छैन । नियमित आम्दानीको स्रोत पनि छैन ।

महेन्द्र सामान्य ज्यालामजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका छन् । तर, पछिल्लो समय गाउँघरमै काम पाउन मुस्किल हुन थालेपछि दैनिक छाक टार्नसमेत समस्या भएको उनले बताए । ‘घर गएपछि कहाँ बस्ने भन्ने समस्या भयो । अहिले अर्काको जग्गामा बसेका छौँ । काम पाए मजदुरी गर्छु, काम नपाए घरमा चुलो बल्नसमेत समस्या हुन्छ,’ महेन्द्रले भने । वृद्ध दम्पतीसहित आठ जनाको परिवारको जिम्मेवारी बोकेका महेन्द्रका लागि नातिनातिनाको भविष्य सबैभन्दा ठूलो चिन्ता बनेको छ । विद्यालय जाने बालबालिकाका लागि कपडा, शैक्षिक सामग्री र दैनिक खानपानको व्यवस्था गर्नसमेत कठिन भइरहेको परिवारले जनाएको छ ।

चाडपर्व नजिकिँदै गर्दा बालबालिकाका आवश्यकता पूरा गर्न नसक्ने अवस्था आएपछि परिवारको चिन्ता झन् बढेको छ । एकातिर वर्षौँदेखि बेखबर छोराको पर्खाइ छ भने अर्कोतिर डोजरले भत्काएको घरको ठाउँमा अब कहाँ बस्ने भन्ने प्रश्न छ । महेन्द्रका लागि बुढेसकालमा आराम गर्ने समयभन्दा नातिनातिनाको भविष्य जोगाउने जिम्मेवारी ठूलो बनेको छ । बिहानदेखि साँझसम्म मजदुरी गरेर कमाएको पैसाले परिवारको चुलो बाल्नुपर्ने बाध्यता छ । दिनाभद्री मन्दिर निर्माणका लागि ऐलानी जग्गा खाली गराइए पनि त्यहाँबाट हटाइएका महेन्द्रको परिवारका लागि वैकल्पिक बसोबास र जीविकोपार्जनको व्यवस्था हुन सकेको छैन ।

अहिले महेन्द्रको परिवारलाई सुरक्षित छानो, खाद्यान्न, लत्ताकपडा र बालबालिकाका लागि शैक्षिक सामग्रीको आवश्यकता छ । १५ वर्षदेखि बेखबर दुई छोराको बाटो हेर्दै आएका महेन्द्रले अब आफ्ना पाँच नातिनातिनाको भविष्य कसरी धान्ने भन्ने चिन्ता बोकेका छन् ।बुढेसकालमा सहारा बन्नुपर्ने छोराहरूको अत्तोपत्तो छैन । जीवनभरको बसोबास रहेको घर पनि छैन । हातमा आफ्नै जग्गा छैन । नियमित आम्दानी छैन । महेन्द्रसँग बाँकी छ त केवल पाँच नातिनातिनाको भविष्य जोगाउने जिम्मेवारी र एउटा सुरक्षित छानोको खोजी ।