इटहरी। मोरङको लेटाङ नगरपालिका–९ जाँतेबाट पथरीतर्फ जाने सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको मृत्यु भएको हो। शुक्रबार राति करिब साढे १० बजे लेटाङ–९ जाँतेको धार्मिक चोकबाट करिब एक किलोमिटर दक्षिणतर्फको जंगल क्षेत्रमा मे १ प ७४६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको घेराबारी बस्ने २७ वर्षीय कुमार नेपाली र मोरङको पथरीशनिश्चरे बस्ने २५ वर्षीय सन्देश नेपालीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो। दुर्घटनामा घाइते पथरीशनिश्चरे–८ का ३२ वर्षीय अमर नेपालीको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


