इटहरी। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ मा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न माग गर्दै क्षेत्रीय सभापतिका उम्मेदवार तथा क्षेत्रीय प्रतिनिधिहरूले आपत्ति जनाएका छन्।
निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि मतगणना नगरिएको भन्दै उनीहरूले तत्काल मतगणना गरी परिणाम सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले पराजित हुने त्रासमा रहेका पक्षले विभिन्न बहाना बनाउँदै मतगणना प्रक्रिया लम्ब्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्। लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन हुनुपर्नेमा केही उम्मेदवारको हारको मानसिक त्रासका कारण मतगणना प्रक्रिया धिमा पारिएको वा रोकिएको उनीहरूको दाबी छ।
मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि अन्तिम नतिजा आउने बेलामा अनावश्यक चलखेल गर्ने वा परिणाम लम्ब्याउने गतिविधि भइरहेको असन्तुष्ट पक्षको आरोप छ। उनीहरूले पार्टीभित्र पारदर्शिता र निष्पक्षता कायम गर्नुपर्ने भन्दै लोकतान्त्रिक मूल्य–मान्यताविपरीतका गतिविधि स्वीकार्य नहुने बताएका छन्।
यता, सम्बन्धित निर्वाचन समितिले भने प्राविधिक व्यवस्थापन र केही स्थानमा देखिएको प्रक्रियागत विवादका कारण मतगणनामा सामान्य ढिलाइ भएको जनाएको छ। निर्वाचन समितिले छिट्टै सबै क्षेत्रको मतपरिणाम सार्वजनिक गरिने जनाएको छ।


