इटहरी स् दोस्रो धरान सिटी रनिङ कप अन्तरक्लब फुटबल प्रतियोगिता आगामी मङ्सिर १२ देखि १९ गतेसम्म धरानमा आयोजना हुने भएको छ ।
धरान सिटी फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका सम्पूर्ण खेल धरान–१६ स्थित धरान रङ्गशालामा सञ्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा आयोजकसहित धरानका आठ वटा फुटबल क्लब सहभागी हुनेछन् । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीले धरानकै खेलाडीलाई प्राथमिकता दिने क्लबका अध्यक्ष विवेक राईले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले नगद रु। १ लाख ५० हजार र उपविजेताले रु। ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्तालगायतका विधामा पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि अनुमानित रु। १८ लाख खर्च हुने क्लबले जनाएको छ । धरानमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा स्थानीय फुटबल क्लबबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए ।
धरान सिटी फुटबल क्लब २०७८ फागुन २० गते स्थापना भएको हो । क्लबले गत वर्ष पहिलो धरान सिटी अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको थियो । पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण आयोजना गर्न लागिएको अध्यक्ष राईले जानकारी दिए ।


