इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६, सिधुवा नाम्जाङमा रहेको निगाले सिमेन्ट उद्योग वर्षौंदेखि बन्द हुँदा उद्योगका मेसिनमा खिया लाग्न थालेको छ भने सयौँ परिवारको रोजगारीमा समेत असर परेको छ ।

२०६४ सालमा स्थापना भएको निगाले सिमेन्टले २०७८ सालदेखि व्यावसायिक रूपमा उत्पादन सुरु गरेको थियो । दैनिक ६ हजार बोरा अर्थात् करिब ३ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले सञ्चालनका क्रममा धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभाको सिमेन्टको ठूलो माग धान्दै आएको थियो । तर आर्थिक संकट, सिमेन्ट बिक्रीमा आएको गिरावट तथा कोइला, बक्साइट, लेट राइट र जिप्सम लगायत कच्चा पदार्थको मूल्यवृद्धिले उद्योग समस्यामा पर्दै गएको छ । उत्पादन घट्दै गएपछि उद्योगले दैनिक करिब १ सय ५० टन मात्रै उत्पादन गर्न थालेको थियो ।

अन्ततः २०८० सालको असारको अन्त्यतिर उद्योग पूर्ण रूपमा बन्द भयो । उद्योग बन्द भएपछि १ सय ५० भन्दा बढी कर्मचारी तथा श्रमिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । लामो समयदेखि उद्योग सञ्चालनमा नआउँदा करोडौँ मूल्यका मेसिन तथा उपकरणमा खिया लागेर कतिपय सामान जीर्ण र प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । स्थानीय सरोकारवालाहरूले भने सरकारले राहत, सहुलियत, बक्यौता व्यवस्थापन तथा आवश्यक लगानीका लागि पहल गरे उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने उद्योग संचालकहरु बताएका छन् ।