इटहरी । इटहरी आदर्श जायन्ट्सको आयोजनामा ’कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ।
प्रतियोगिताको औपचारिक घोषणा तथा विस्तृत जानकारी गराउने उद्देश्यले ‘रमाडा बाई विन्डम इटहरी’मा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । कर्पोरेट क्षेत्रका विभिन्न संस्था, व्यावसायिक प्रतिष्ठान तथा सङ्घ–संस्थामा कार्यरत कर्मचारीहरूलाई क्रिकेटमार्फत एउटै मञ्चमा जोड्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, नेटवर्किङ विस्तार, टोली भावनाको विकास र स्वस्थ प्रतिस्पर्धात्मक खेलकुद संस्कृति प्रवद्र्धन गर्ने लक्ष्य आयोजकले राखेको छ। सुनसरी जिल्ला क्रिकेट सङ्घ र विश्व आदर्श कलेज, इटहरीको सहयोगमा हुन लागेको यस प्रतियोगितामा १२ वटा कर्पोरेट टोलीले सहभागिता जनाउनेछन् । लिग चरणमा खेलाइने प्रतियोगिताका उत्कृष्ट टोली तथा खेलाडीहरूलाई ‘६४ डेलिभरी’को फुड डेलिभरी कुपन तथा आकर्षक गिफ्ट ह्याम्पर पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको सह–प्रायोजक ‘एभरेस्ट क्युजिन’, हस्पिटालिटी पार्टनर ‘रमाडा बाई विन्डम इटहरी’, डेलिभरी पार्टनर ‘६४ डेलिभरी’, डेकोर पार्टनर ‘कुटी होम डेकोर’ र फिटनेस पार्टनर ‘पिनाकल फिटनेस इटहरी’ रहेका छन्। आयोजक इटहरी आदर्श जायन्ट्सले यस प्रतियोगिताले कर्पोरेट क्षेत्र र क्रिकेटलाई अझ मजबुत तरिकाले जोड्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण खेलप्रेमी तथा सरोकारवालाहरूलाई सहभागी भई कार्यक्रम सफल बनाउन हार्दिक आह्वान गरेको छ ।


