इटहरी। रोजगारीका लागि आवश्यक सीपसँगै कृत्रिम बौद्धिकता ९एआई० को ज्ञान लिनुपर्ने आईटी विज्ञले बताउनुभएको छ ।
प्रविधिको विकाससँगै काम गर्ने शैली र रोजगारीको प्रकृति परिवर्तन भइरहेकाले सीपसँगै एआईको प्रयोग पनि सिक्नु पर्ने आईटी विज्ञ दिपेन्द्र चापागाईंले बताउनु भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको उपस्थितिमा आइटी विज्ञ चापागाईंले सो कुरा बताउनुभएको हो । नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी होटलको प्राङ्गणमा सञ्चालित ‘सीप तथा रोजगार मेला–२०८३ अन्तर्गत नेपालको श्रम बजार प्रवद्र्धनका लागि सीपयुक्त जनशक्तिको निर्माण र दीर्घकालीन उपयोग विषयमा आयोजित करियर उडान संवाद शृङ्खलामा आईटी विज्ञ दिपेन्द्र चापागाईंले सीपसँगै एआईको प्रयोग पनि सिक्नु पर्ने बताउनुभएको हो ।
अहिले सामान्य कम्प्युटर चलाउन नजान्दा कामकाजमा पर्ने प्रभावजस्तै एआईको ज्ञान नहुँदा भविष्यमा रोजगारीको क्षेत्रमा प्रभाव पर्न सक्ने बताउनुभयो । चापागाईंले प्रविधिको विकाससँगै मानिसले काम गर्ने तरिकामा निरन्तर परिवर्तन हुँदै आएको बताउनुभयो । विगतमा हिसाब गर्न औँला भाँच्ने वा कागजमा लेखेर गणना गर्ने गरिएकोमा क्याल्कुलेटरको प्रयोगले हिसाब गर्ने तरिकामा परिवर्तन भएको र स्प्रेडसिटले हिसाब राख्ने र व्यवस्थापन गर्ने शैली परिवर्तन गरेको बताउनु भएको छ । चापागाईंका अनुसार अहिले एआईले हिसाबकिताबमा मात्र नभई शिक्षा, व्यवसाय, सूचना प्रविधि, सञ्चार, उद्योगलगायत विभिन्न क्षेत्रको कामलाई सहज बनाइरहेको छ । आफनो रुचि र क्षमता अनुसार जुनसुकै सीप सिके पनि त्यसलाई एआईसँग जोड्न सके स्वदेशमै बसेर विश्व बजारसँग जोडिन सकिने बताइएको छ ।
आफ्नो सीपसँग एआईको ज्ञानलाई जोड्न सके स्वदेशमै बसेर पनि विश्व बजारका लागि काम गर्न सकिने चापागाईंको भनाइ छ । मेलामा युवाको आकर्षण सूचना प्रविधि तथा डिजिटल सीपमा पनि बढेको छ । मेलामा आउनु भएकी इटहरी–११ की ममता चौधरी डिजिटल मार्केटिङसम्बन्धी तालिम लिन चाहेकाले त्यससम्बन्धी जानकारी लिन आएको बताउनुभयो । चौधरीजस्तै सीप तथा तालिमबारे जानकारी लिन दैनिक सयौँ युवा मेला पुग्ने गरेका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालय सिप विकास समन्वय शाखा प्रमुख होमनाथ पराजुलीका अनुसार युवाको आकर्षण सूचना प्रविधि तथा डिजिटलसम्बन्धी तालिममा बढ्दै गएको छ । सीप हासिल गरेर रोजगारीसँग जोडिन चाहने युवाको आकर्षण मेलामा बढेको छ ।
इटहरीमा सञ्चालन भइरहेको मेलामा ७० भन्दा बढी स्टल रहेका छन् । स्टलमार्फत विभिन्न सीप तथा रोजगारीका अवसरबारे जानकारी दिनुका साथै रोजगारीसम्बन्धी परामर्शसमेत दिदै आएको बताइएको छ । डिजिटल मार्केटिङ, एआईलगायत प्रविधिमा आधारित सीपमूलक तालिमका अवसरबारे जानकारी गराउने र इच्छुक युवालाई तालिम प्रदायक संस्थासँग जोड्ने काम भइरहेको आयोजकले जनाएको छ । मेलामा नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी जानकारी, लामो अवधिका तालिम तथा आवश्यकताअनुसार रेफरल सेवासमेत उपलब्ध गराइएको छ । रोजगारदाता, तालिम प्रदायक संस्था र रोजगारी खोजिरहेका युवाबीच प्रत्यक्ष सम्पर्क गराउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।


