इटहरी। धनकुटा नगरपालिका–४ स्थित बिहिबारे हटियानजिक निर्माण गरिएको आठपहरिया संग्रहालय सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । आठपहरिया जातिको कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको संग्रहालयका आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भएको हो ।

करिब तीन करोड रुपियाँको लागतमा निर्माण गरिएको दुईतले संग्रहालय भवनमा एउटा ठूलो हलसहित १० वटा कोठा रहेका छन् । भवनमा परम्परागत शैली झल्काउने गरी फुसको छाना लगाइएको छ । धनकुटा नगर विकास समितिको करिब तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको संग्रहालयका लागि सङ्घीय सरकारको विशेष अनुदान र धनकुटा नगरपालिकाको लगानी रहेको छ । संग्रहालयमा आठपहरिया जातिको कला, संस्कृति, भेषभूषा, भाषा, धर्म तथा पुरातात्त्विक महत्वका सामग्री राखिने भएका छन् । संग्रहालयका लागि आवश्यक सामग्री सङ्कलनको काम भइरहेको किरात आठपहरिया समाज नेपालका केन्द्रीय महासचिव कोमल किम्दाङ आठपहरियाले बताउनुभयो ।

उहाँका अनुसार आठपहरिया समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका गरगहना, बाजागाजा, हातहतियार, भाँडाकुँडा, खानपान तथा रहनसहनसँग सम्बन्धित सामग्रीसमेत सङ्कलन गरिनेछ । समुदायको आफ्नै धर्म, संस्कृति, परम्परा र रीतिरिवाज रहेकाले जन्मदेखि मृत्युसम्मका संस्कारसम्बन्धी दस्तावेजसमेत तयार गरी संग्रहालयमा राखिने उहाँले बताउनुभयो । धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीका अनुसार संग्रहालय सञ्चालनको मोडालिटी र कार्यविधिको मस्यौदाबारे छलफल भइरहेको छ । संग्रहालयको स्वामित्व नगरपालिका वा आठपहरिया समुदायमध्ये कसको हुने भन्ने विषयमा समेत छलफल भइरहेको उहाँले बताउनुभयो । संग्रहालय सञ्चालनमा आएपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

धनकुटा नगरपालिका र किरात आठपहरिया समाजबीच सहकार्य गरी संग्रहालयलाई पर्यटनको केन्द्रसँग जोड्ने योजना रहेको बताइएको छ । आठपहरिया समुदायको मुख्य बसोबास धनकुटा जिल्लाको धनकुटा नगरपालिकाभित्र रहेको छ । सोही कारण नगरपालिकाले समुदायको कला, संस्कृति र पहिचान संरक्षणका लागि संग्रहालय निर्माण गरी सञ्चालनमा ल्याउन पहल गरेको हो । आठपहरिया समुदायको जनसङ्ख्या देशभर करिब १० हजारको हाराहारीमा रहेको बताइएको छ । समुदायभित्र छारा, हुम्बारक, किम्दाहाङ, लेङ्सुवा, पाङ्सुङलगायत १९ जातीय समूह रहेका छन् । आठपहरिया समुदायले आफूलाई छुट्टै आदिवासी जनजातिका रूपमा सूचीकृत गर्नुपर्ने माग गर्दै आएको छ । आठपहरिया समुदायले विभिन्न चाडपर्व मनाउँदै आएको छ । न्वागी ९भदौरे०, विशु ९वैशाखे० र वाडाङ्मेट ९मंसिरे० प्रमुख चाडका रूपमा मनाउने गरिएको छ । समुदायका २२ थलोमा २२ वटा मार्गाथानी तथा ५२ चुले अर्थात् ठूला घरमा विशेष पूजाआजा गर्ने परम्परा रहेको बताइएको छ । वाडाङ्मेटलाई समुदायको प्रमुख चाडका रूपमा मनाउने गरिन्छ ।