इटहरी। आख्यानकार जानु काम्बाङद्वारा लिखित उपन्यास ‘खाम्योक’ माथि धरानमा परिचर्चा गरिएको छ। लिम्बू पत्रकार संघको आयोजनामा शनिबार भएको कार्यक्रममा उपन्यासका विषयवस्तु, पात्र, पहिचान र ऐतिहासिक पक्षमाथि चर्चा गरिएको हो।

कार्यक्रममा आख्यानकार काम्बाङले उपन्यासको मुख्य पात्रको स्वभाव र माटोप्रतिको समर्पणसँग जोडेर ‘खाम्योक’ नाम राखिएको बताए। बेल्जियम पुगे पनि आफ्नो माटो र देशप्रति समर्पित रहने पात्रमार्फत परदेशीको भावना र अनुभवलाई प्रस्तुत गर्न खोजिएको उनले बताए। परदेशीले दुःख गरेर पठाएको रकमको उचित सदुपयोग नहुनु, हिसाबकिताब पारदर्शी नहुनु तथा अपेक्षित प्रतिफल नपाउँदाको पीडालाई समेत उपन्यासमा समेटिएको काम्बाङले बताए। पहिचानको मुद्दा पनि कृतिको महत्वपूर्ण विषय रहेको उनको भनाइ थियो।

समालोचक डा। अस्मिता विष्टले ‘खाम्योक’लाई लिम्बुवानको लडाइँका घटनाक्रमको दस्तावेजका रूपमा व्याख्या गरिन्। प्रत्यक्ष रूपमा युद्धमा सहभागी नभएका पाठकले समेत त्यसबेलाको अवस्थाबारे बुझ्न सक्ने उनले बताइन्। विष्टले ‘खाम्योक’ नितान्त याक्थुङ पहिचान, ऐतिहासिक चेतना र सौन्दर्यबोधको दस्तावेज भएको टिप्पणी गरिन्। कृतिको मूल्याङ्कन गर्दा यी पक्षलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार बम देवान, समालोचक प्रा।डा। इन्दिरा मिश्र र डा। अस्मिता विष्टले उपन्यासका विभिन्न पक्षमाथि टिप्पणी गरेका थिए।