इटहरी। दसैँमा हुने पशुबलि न्यूनीकरण गर्दै प्राणीप्रति करुणा र प्रेमको भावना विकास गर्न पाँचथरको फिदिममा आइतबार बृहत सचेतना पदयात्रा निकालिएको छ ।
विश्व प्राणी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको पदयात्रामा सहभागीले पशुपक्षीको बध नगर्न, चाडपर्वलाई मितव्ययी बनाउन र धार्मिक आस्थालाई हिंसारहित बनाउन आग्रह गर्नुभएको थियो । पदयात्रामा ‘सम्पूर्ण प्राणीलाई प्रेम गरौँ’, ‘बलिभोग न्यूनीकरण गरौँ’, ‘चाडपर्वलाई मितव्ययी बनाऔँ’, ‘शाकाहारी भोजन गरौँ’ तथा ‘देवीदेवताको पूजा फलफूल चढाएर गरौँ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो ।
दसैँको सप्तमीदेखि महानवमीसम्म अधिक पशुबलि दिने प्रचलन बढिरहेको अवस्थामा प्राणीको जीवन र पीडालाई पनि मानवीय संवेदनासँग जोडेर हेर्नुपर्ने सन्देश पदयात्रामार्फत दिइएको आयोजकले जनाएको छ । सहभागीले पशुपक्षीको बध गर्नु अपराध भएकाले धार्मिक तथा सांस्कृतिक परम्पराका नाममा हुने हिंसा न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रेमवाद नेपाल ९हेभन्ली पाथ नेपाल०, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र लगायतका संस्थाका प्रतिनिधि तथा बौद्ध धर्मावलम्बीको सहभागिता रहेको पदयात्रा फिदिम नगरपालिका–१ स्थित युके कम्प्लेसबाट सुरु भएको थियो । नगरका विभिन्न भागको परिक्रमा गर्दै पदयात्रा गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । हेभन्ली पाथ नेपालका अभियन्ता लक्ष्मी राईले प्राणीप्रति करुणा र अहिंसाको सन्देश प्रवाह गर्न ¥याली आयोजना गरिएको बताउनुभयो । उहाँले चाडपर्वलाई उल्लाससँगै मितव्ययी र हिंसारहित बनाउनुपर्नेमा जोड दिनुभयो ।


