इटहरी। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन सुरु गरेको छ। केन्द्रले पुष्य नक्षत्रको अवसर पारेर धनकुटामा स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको हो।
स्वर्णबिन्दु प्राशन कार्यक्रमको शुभारम्भ कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले एक कार्यक्रममा बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराएर गर्नुभएको थियो। धनकुटामा पहिलो पटक सुरु गरिएको यो कार्यक्रमअन्तर्गत हरेक महिनाको पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराइनेछ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाकी प्रमुख डा। विद्या श्रेष्ठका अनुसार आयुर्वेदिक मान्यताअनुसार स्वर्णबिन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकास, स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार सुनको भस्म, मह र घिउको मिश्रणबाट स्वर्णबिन्दु तयार गरिन्छ। करिब पाँच हजार वर्ष पुरानो काश्यप संहितामा समेत स्वर्णबिन्दु प्राशनको विधि उल्लेख रहेको आयुर्वेद चिकित्सकहरूको भनाइ छ।
धनकुटामा पहिलो पटक सञ्चालन गरिएको कार्यक्रममा हालसम्म एक सय ५० जना बालबालिका स्वर्णबिन्दु प्राशनका लागि दर्ता भएको केन्द्रले जनाएको छ। जिल्लाभरिका एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी गराउने तयारी गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले जनाएको छ।


