इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मरणोपरान्त आँखा दान गरेर दृष्टिविहीनलाई यो सुन्दर संसार देखाउने अभियान वर्तमान कोशी प्रदेश सरकारले अघि बढाएको बताउनुभएको छ ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित मदन भण्डारी आँखा अस्पताल उदयपुरले आयोजना गरेको ‘स्मृति वृक्षरोपणको सातौँ वार्षिक उत्सव’ कार्यक्रमलाई आइतबार सो अस्पतालपरिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । कोशी प्रदेशका कम्तीमा एक हजार दृष्टिविहीनलाई आँखा प्रत्यारोपणमार्फत यो सुन्दर संसार देखाउने अभियान सुरु गरिएको र यसका लागि झापा जिल्लाको मेची अस्पताल र मोरङ जिल्लाको कोशी अस्पतालमा आँखाका विज्ञ प्राविधिक चिकित्सकको प्रबन्ध गरिसकिएको उहाँले बताउनुभयो ।
मरणोपरान्त दान गरिएका आँखाको उपयोग गरी दृष्टिविहीनलाई दृष्टि प्रदान गर्ने काममा प्रदेश सरकार लागिपरेको बताउँदै उहाँले आफूले समेत मरणोपरान्त आँखा दान गरिसकेको जानकारी दिनुभयो । सोही अवसरमा मुख्यमन्त्री कार्कीले मदन भण्डारी आँखा अस्पतालले स्वास्थ्यसेवासँगै वातावरण संरक्षण र सामाजिक स्मृतिलाई जोडेर अघि बढाएको वृक्षरोपण अभियान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले ठुलो वनक्षेत्रभित्र खाली रहेका जग्गामा विभिन्न किसिमका फलफूलका बिरुवा रोपेर वातावरण संरक्षणसँगै आयआर्जन गर्न सकिने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशभित्रका जिल्लामा खाली रहेको वनक्षेत्रभित्रको जमिनमा काजु, हाडे बदाम, अनार, आँपलगायतका फलफूलजन्य बिरुवा रोपेर पैसा कमाउन पनि सकिने हुँदा वातावरण संरक्षणसँगै किसानलाई आयआर्जनमा जोडेर जान सकिने र यसका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । यो अस्पतालले आफ्ना स्वर्गीय आमाबुवाको स्मृतिमा अस्पतालपरिसरको खाली जमिनमा विभिन्न प्रजातिका बिरुवा रोप्दै आएको छ । सोही क्रममा मुख्यमन्त्री कार्कीले आफ्ना स्वर्गीय बुवा बमबहादुर कार्की र आमा जानुकादेवी कार्कीको स्मृतिमा अस्पतालपरिसरमा ‘सीताअशोक’ को बिरुवा रोप्नुभएको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो ।


