इटहरी । मोरङको पथरी शनिश्चरेमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप अन्तर्गत भएको दोस्रो क्वार्टरफाइनल खेलमा एनआरटी काठमाडौँले डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब सिरहालाई ३–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पथरी शनिश्चरे–१ स्थित प्रस्तावित रङ्गशालामा भएको खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफमा सहलेस युवा क्लबका जर्सी नम्बर १० का निङमा घिसिङले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि एनआरटीले १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा एनआरटीले आक्रमणलाई थप तीव्र बनाउँदै खेलको ७९ औँ मिनेटमा जर्सी नम्बर १४ का कृष्ण आलेले गोल गरे। उनको गोलसँगै एनआरटीले २–० को अग्रता बनायो। त्यसपछि खेलको अतिरिक्त समयमा एनआरटीका जर्सी नम्बर १७ का सुदीप श्रेष्ठले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
सहलेसले खेल अवधिभर एनआरटीको गोलपोस्टमा पटक–पटक आक्रमण गरे पनि गोलमा परिणत गर्न नसक्दा डिफेन्डिङ च्याम्पियन टोली प्रतियोगिताबाट बाहिरिएको छ। खेलमा एनआरटीका गोलकिपर जर्सी नम्बर १ का विशाल सुनुवार प्लेयर अफ द म्याच घोषित भए। उनलाई पथरी शनिश्चरे–१ का वडाध्यक्ष भीमकुमार राई तथा पथरी – ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले पुरस्कार प्रदान गर्नुभयो। एनआरटीले खेलमा विदेशी खेलाडीलाई समेत मैदानमा उतारेको थियो। एनआरटी काठमाडौँको जितसँगै तेस्रो पथरी शनिश्चरे गोल्डकपको सेमिफाइनल समीकरण समेत थप रोचक बनेको छ ।


