इटहरी । नेशनल प्याब्सन सुन्दरहरैँचा नगर समितिको आयोजनामा सम्पन्न अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट–२०८३ मा हिमालय इङ्लिस स्कुलले तीनै तहमा प्रथम स्थान हासिल गर्दै आफ्नो वर्चस्व कायम गरेको छ।
सुन्दरहरैँचा–१२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई हिमालय इङ्लिस स्कुलले विशेष कार्यक्रमबीच सम्मान गरेको हो। विजयी विद्यार्थीहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्दै सम्मान गर्नुभयो। खनालले विद्यार्थीको लगनशीलता र मिहिनेतको प्रशंसा गर्दै यस्ता सफलताले अन्य विद्यार्थीलाई पनि निरन्तर अघि बढ्न प्रेरणा दिने बताउनुभयो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो। प्रतियोगिताको प्रथम तहमा हिमालय इङ्लिस स्कुल प्रथम, पाठशाला दोस्रो, बाल बगैँचा तेस्रो र श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल चौथो भएका छन्। त्यस्तै दोस्रो तहमा पनि हिमालय इङ्लिस स्कुल प्रथम भएको थियो । यस तहमा गुरुकुल दोस्रो, श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल तेस्रो, पाठशाला एकेडेमी चौथो, मदरल्याण्ड पाँचौँ र सप्तकोशी छैटौँ भएको थियो । तेस्रो तहमा हिमालय इङ्लिस स्कुलले पुनः प्रथम स्थान हासिल गरेको छ। श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, मदरल्याण्ड तेस्रो र पाठशाला चौथो भएको थियो ।


