इटहरी । शिक्षण सिकाइलाई अझ प्रभावकारी, प्रविधिमैत्री र आधुनिक बनाउने उद्देश्यले सुनसरीमा दुईदिने एआई क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
जिल्ला प्याब्सन सुनसरीको आयोजनामा इटहरीमा आयोजित उक्त कार्यक्रममा जिल्लाभरका २०० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो। पहिलो दिनको कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य शैलेन्द्रप्रकाश अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला कोषाध्यक्ष गोपाल निरौलाले गर्नुभएको थियो।
तालिममा आइएनजी इम्प्याक्ट काठमाडौंका डाइरेक्टर गोविन्द थापाले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो। उहाँले सहभागीहरूलाई च्याट–जिपिटी, जेनेरेटिभ एआई, पाठयोजना, प्रश्नपत्र निर्माण, विद्यार्थी सिकाइ विश्लेषण तथा एआईको सुरक्षित र नैतिक प्रयोगबारे व्यावहारिक अभ्यास गराउनुभयो। कार्यक्रममा इटहरी नगर प्याब्सन अध्यक्ष सूर्य मणि निरौला, रामधुनी नगर प्याब्सन अध्यक्ष अच्युत ढकाल, धरान नगर प्याब्सन अध्यक्ष दीपक घिमिरे र दुहबी नगर प्याब्सन अध्यक्ष सुशील शाक्य लगायत जिल्ला तथा नगर प्याब्सनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
एआईलाई शिक्षाको विकल्प नभई प्रभावकारी सहयात्रीका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै आयोजकले सबैप्रति धन्यवाद व्यक्त गरेको छ।


