इटहरी । थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व जितियाको अवसरमा बर्जु गाउँपालिका–५ मा विशेष कार्यक्रम सम्पन्न भएको छ।
महिला संस्कृति संरक्षण समिति बर्जु–५ को आयोजना तथा बर्जु गाउँपालिकाको सह–आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो। समितिकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष जिवच्छ राय प्रमुख अतिथि, उपाध्यक्ष नितु कुमारी चौधरी विशेष अतिथि तथा वडा नं. ५ का अध्यक्ष अजय चौधरी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जिवच्छ रायले जितिया पर्व थारू समुदायको मौलिक पहिचान र परम्परासँग जोडिएकाले यसको संरक्षणमा स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी उपाध्यक्ष नितु कुमारी चौधरीले मौलिक परम्परा जोगाउन महिला र युवापुस्ताको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो। वडाध्यक्ष अजय चौधरीले यस्ता सांस्कृतिक कार्यक्रमले समुदायबीचको एकता र सद्भावलाई थप बलियो बनाउने बताउनुभयो। कार्यक्रमकी अध्यक्ष लक्ष्मी चौधरीले थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। सन्तानको सुख, शान्ति र दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्वको अवसरमा महिलाहरूले मौलिक गीत, नृत्य र परम्परागत सांस्कृतिक झाँकीहरूसमेत प्रस्तुत गरेका थिए।


