इटहरी । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुनसरीको इटहरीमा सञ्चालन भइरहेको ‘सीप तथा रोजगार मेला’ अन्तर्गत सामाजिक सुरक्षा सुनिश्चिततामा सरकार, श्रमिक र रोजगारदाताको भूमिकाका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको मेलामा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको छ।

IMG-20261005-WA0044

अन्तरक्रियामा सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल, रघुपति जुटमिलका निर्देशक सोमनाथ अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जेटियुसिसी कोशी प्रदेश अध्यक्ष किशोर धमला तथा सामाजिक विकास मन्त्रालयका सचिव दुर्गा भण्डारी बराल ले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो।

IMG-20261005-WA0047

कार्यक्रममा वक्ताहरूले श्रमिकको सामाजिक सुरक्षा केवल सरकारी दायित्व नभई सरकार, रोजगारदाता र श्रमिक तीनै पक्षको साझा जिम्मेवारी भएकोमा जोड दिएका थिए। सामाजिक सुरक्षा योजनालाई प्रभावकारी बनाउन रोजगारदाताको सहभागिता बढाउनुपर्ने तथा श्रमिकलाई योजनाको लाभबारे पर्याप्त जानकारी दिनुपर्ने धारणा व्यक्त गरिएको थियो।

अन्तरक्रियाका क्रममा सहभागीहरूले सामाजिक सुरक्षा कोषअन्तर्गत आबद्ध स्वास्थ्य संस्थाहरूको प्रभावकारी निरीक्षण तथा नियमन गर्नुपर्ने, उपचारसम्बन्धी भुक्तानी प्रक्रिया छिटो, सरल र सहज बनाउनुपर्ने तथा श्रमिकले पाउने उपचार कोषको रकम बढाउनुपर्ने मागसमेत उठाएका थिए।

IMG-20261005-WA0045

त्यस्तै, सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिकले सेवा लिन खोज्दा देखिने व्यावहारिक समस्या समाधान गर्नुपर्ने र कोषका सेवाहरूलाई थप सहज तथा श्रमिकमैत्री बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रमलाई युवा, श्रम तथा रोजगार मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदीले सहजीकरण गर्नुभएको थियो।

इटहरीमा जारी सीप तथा रोजगार मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० वटा विधाका ७० भन्दा बढी स्टल रहेका छन्। मेलाको मुख्य अवधारणा ‘माग–सीप तालिम–रोजगार’ लाई एउटै प्रणालीमा आबद्ध गरी रोजगारदाता र रोजगारी खोज्ने युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्नु रहेको छ।

असोज १४ देखि २० गतेसम्म सञ्चालन भइरहेको मेलामा सीप र रोजगारीसँगै श्रमिकको सामाजिक सुरक्षा, रोजगारदाता र श्रमिकबीचको सम्बन्ध तथा श्रम बजारका व्यावहारिक समस्यामाथि समेत संवाद भइरहेको छ। यसले रोजगारी खोजिरहेका युवालाई अवसरसँग जोड्नुका साथै श्रम अधिकार र सामाजिक सुरक्षाबारे जानकारी दिने महत्वपूर्ण मञ्चका रूपमा समेत काम गरिरहेको छ।