इटहरी । कोशी प्रदेशका विवाहित महिलाहरू लक्षित प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जित्नुभएको छ । 

असोज १९ गते सोमबार इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजित ग्रान्ड फिनालेमा प्रदेशभरका १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै पेशाले शिक्षिका तथा सञ्चारकर्मी राउतले उपाधि चुम्नुभएको हो  । मुख्य उपाधिसँगै उहाँले ‘मिसेस ट्यालेन्ट’को सब–टाइटल समेत हात पार्नुभएको छ । प्रतियोगितामा जमुना दाहाल फस्ट रनरअप, यमुना महत सेकेन्ड रनरअप, सोनी थापा थर्ड रनरअप, मनिका चौधरी अर्गनाइजर च्वाइस र धुर्व कुमारी गुरुङ पब्लिक च्वाइस घोषित हुनुभयो ।

मुख्य विजेता सृजनाले १ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नुृभएको छ । जसमा रमाडा बाइ विन्डहम इटहरीमा ब्रेकफास्ट सहित १ रातको लक्जरी स्टे, फुडशाला रेस्टुरेन्टबाट १० हजार रुपैयाँ बराबरको फुड भाउचर तथा १ वर्षको निःशुल्क जिम सुविधा लगायत विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरू सामेल छन्। कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको निर्णायकमा पृथ्वीया थापा, रुविना श्रेष्ठ, विवेश राई र रेखा गुरुङ रहनुभएको थियो ।

यार्सागुम्बाको मुख्य प्रायोजन तथा लुक मी कस्मेटिकको सह–प्रायोजनमा सम्पन्न प्रतियोगितामा सिईओ सजिना श्रेष्ठ, सरोज श्रेष्ठ, सुभेच्छा कार्की, सुवास संकल्प श्रेष्ठ र निश्चल श्रेष्ठको मुख्य भूमिका रहेको थियो। अन्य प्रतिस्पर्धीहरूले पनि विभिन्न विधामा सब–टाइटल जितेका थिए भने कार्यक्रम मेरिना तुम्सा लिम्बूले सञ्चालन गर्नुभएको थियो ।