इटहरी । चाडपर्व तथा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै सुनसरीको सदरमुकाम इनरुवास्थित बजारमा सोमबार सघन अनुगमन गरिएको छ । 

अखाद्य तथा म्याद गुज्रेका सामग्री बिक्री भइरहेको जनगुनासो बढेपछि प्रशासन र स्थानीय निकायको संयुक्त टोलीले यो कदम चालेको हो।  अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत राकेश मण्डल, जिल्ला प्रशासन कार्यालय सुनसरीका ठकिन्द्र राज दाहाल, ईनरुवा नगरपालिकाका तर्फबाट कुमारी भट्टराई र गीता सुवेदीको उपस्थिति रहेको थियो। त्यसैगरी निजी क्षेत्र र उपभोक्ता अधिकारको प्रतिनिधित्व गर्दै ईनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिराज अटल, कोषाध्यक्ष उमेश गुप्ता तथा उपभोक्ता मञ्च नेपाल ईनरुवाका अध्यक्ष शंकर नाथ महाजु लगायत सुरक्षाकर्मी र पत्रकारहरूको संयुक्त सहभागिता रहेको थियो।

किराना पसल, खाद्यान्न गोदाम, डेरी तथा तरकारी बजार निरीक्षण गर्दा भेटिएका ठूलो परिमाणका म्याद गुज्रेका अखाद्य वस्तु नियन्त्रणमा लिई सार्वजनिक रूपमा नष्ट गरिएको छ । दर्ता÷नवीकरण बिना सञ्चालित र मूल्यसूची नराख्ने व्यवसायीलाई नियमानुसार जरिवाना गराइएको छ भने साना त्रुटि गर्ने व्यापारीलाई तत्काल सुधार गर्न सचेत गराइएको छ ।

खाद्य अनुसन्धान अधिकृत राकेश मण्डलले गुणस्तरहीन वस्तु बिक्री गर्नेलाई कडा कानुनी कारबाही गरिने बताउनुभयो। उपभोक्ता मञ्चका अध्यक्ष शंकर नाथ महाजुले वर्षैभरि अनुगमन हुनुपर्नेमा जोड दिनुभयो भने उद्योग वाणिज्य संघले स्वच्छ व्यापारका लागि व्यवसायीलाई आग्रह गरेको छ । अनुगमनपछि स्थानीय उपभोक्ताले यसलाई निरन्तरता दिन माग गरेका छन्।