इटहरी । बराहक्षेत्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टीस्थित जनहित क्लबको सभाहलमा माध्यमिक विद्यालय (कक्षा ११–१२) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

नगरभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय सहभागी प्रतियोगितामा जीवन ज्योति इङ्लिस स्कुल प्रथम भएको छ। प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने जीवन ज्योतिका बिकेश राउत र कल्पना भट्टराईले नगद  ८ हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी राधाकृष्ण संस्कृत माध्यमिक गुरुकुलमका मुकुन्द बस्ती र रोशिश दाहाल द्वितीय भई  ६ हजार, जडेज माध्यमिक विद्यालयका जुना बस्नेत र प्रवेश कटुवाल तृतीय भई  ४ हजार तथा मुनबिम एकेडेमीका अबिसेक सुवेदी र रोया कार्कीले सान्त्वना स्थान प्राप्त गरी नगद २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तमराज भारतीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख नन्दुमारी सुनुवार र शिक्षा समिति सदस्य ज्ञानबहादुर पाण्डे लगायतले विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो। विद्यार्थीहरूको सिर्जनात्मक क्षमता विकासका लागि वक्तृत्वकला, कविता, चित्रकला, नृत्यकला र उद्घोषण जस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै आएको र आगामी दिनमा पनि यस्ता प्रतिभा विकासका कार्यक्रमलाई निरन्तर अघि बढाइने शाखा प्रमुख उत्तम भारतीले जानकारी दिनुभयो।