इटहरी। केही समयअघिसम्म स्तूप, गुम्बा वा बौद्धमार्गीका घरआँगनमा मात्र देखिने ‘लुङ्दर’ पछिल्लो समय हिमाली क्षेत्रका पर्यटकीय स्थलमा समेत प्रशस्त देखिन थालेको छ । रङ्गीचङ्गी कपडामा बौद्ध धर्मका मन्त्र तथा प्रार्थना अङ्कित लुङ्दर हावाको वेगसँगै फहराउँदा धार्मिक आस्थासँगै पर्यटकीय क्षेत्रको सौन्दर्यसमेत बढ्छ ।
हिमाली जिल्ला ताप्लेजुङका विभिन्न पर्यटकीय क्षेत्रमा पछिल्लो समय लुङ्दर राख्ने व्रmम बढेको छ । विशेष गरी शेर्पा तथा अन्य बौद्धमार्गी समुदायको धार्मिक तथा सांस्कृतिक अभ्यासका रूपमा रहेको लुङ्दर अहिले गुम्बा, स्तूप र घरको शिरमा मात्र सीमित नरही अग्ला डाँडा, पर्यटकीय स्थल, होटेल तथा सार्वजनिक स्थानसम्म फैलिएको छ । रङ्गीन आयताकार कपडाबाट तयार पारिने लुङ्दरमा ‘ॐ मणि पद्मे हुँ’ लगायत बौद्ध धर्मका मन्त्र तथा प्रार्थना लेखिएको हुन्छ । धार्मिक विश्वास अनुसार हावामा लुङ्दर जति धेरै फहराउँछ, त्यति नै शुभ मानिन्छ । लुङ्दरबाट उत्पन्न हुने तरङ्गमार्फत मानिसले गरेको प्रार्थना भगवान्सम्म पुग्ने विश्वास रहेको मिक्वाखोला गाउँपालिका–५, पापुङका नुपु छिरिङ शेर्पा बताउनुहुन्छ ।
शेर्पा समुदायमा परिवार तथा छिमेकीको सुख, शान्ति र समृद्धिको कामना गर्दै विभिन्न स्थानमा लुङ्दर राख्ने परम्परा रहेको छ । धार्मिक संस्कार अनुसार जन्म, उत्सव, विवाह तथा मृत्यु संस्कारमा समेत यसको प्रयोग गर्ने चलन रहेको फुङलिङ नगरपालिका निवासी मानबहादुर गुरुङले बताउनुभयो । पछिल्लो समय लुङ्दरको प्रयोग धार्मिक अवसरमा मात्र सीमित नरहेको उहाँको भनाइ छ । सार्वजनिक स्थानमा सामूहिक रूपमा मनाइने चाडपर्व, सांस्कृतिक तथा ऐतिहासिक कार्यव्रmममा समेत यसको प्रयोग बढ्दै गएको उहाँले बताउनुभयो । मिक्वाखोला–५, पापुङका सन्तोष शेर्पाका अनुसार अहिले सवारीसाधन, होटेल तथा रेस्टुरेन्टमा समेत लुङ्दर राख्ने चलन बढेको छ । तामाङ समुदायमा भने नयाँ वर्षको सुरुवातसँगै पुराना नकारात्मक घटना र सोचलाई त्यागेर नयाँ सुरुवातको प्रतीकका रूपमा लुङ्दर परिवर्तन गर्ने तथा नयाँ स्थानमा राख्ने चलन रहेको फुङलिङ नगरपालिका निवासी करुणा तामाङले बताउनुभयो ।
धार्मिक आस्थासँग जोडिएको लुङ्दरको प्रयोग पर्यटकीय क्षेत्रमा बढ्दै जाँदा यसले हिमाली क्षेत्रको मौलिक संस्कृति र पहिचानलाई समेत बाहिर चिनाउन सहयोग पुगेको स्थानीयको भनाइ छ । हिमाली डाँडा, पदमार्ग तथा पर्यटकीय गन्तव्यमा हावासँगै फहराइरहेका रङ्गीचङ्गी लुङ्दरले पर्यटकको ध्यानसमेत आकर्षित गर्ने गरेका छन् । धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा पुस्तौँदेखि प्रयोग हुँदै आएको लुङ्दर अहिले हिमाली पर्यटकीय क्षेत्रको पहिचानसँग जोडिन थालेको छ ।


