इटहरी। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको साझेदारीमा मानवअधिकार, सामाजिक सचेतना तथा विकास केन्द्र ९हुसाडेक० नेपाल, धनकुटाले सञ्चालन गरेको ‘रिभाइभिङ स्प्रिङ्स एन्ड स्ट्रेन्थेनिङ लाइभलिहुड्स अफ आठपहरिया राई कम्युनिटी थ्रु इको–टेक्नोलोजिज एन्ड ट्रेडिसनल नलेज’ परियोजना सम्पन्न भएको छ ।
धनकुटा नगरपालिका–८ मा सन् २०२५ नोभेम्बर २४ देखि सञ्चालन गरिएको परियोजनाको प्रगति समीक्षा तथा समापन कार्यक्रम बुधबार धनकुटामा सम्पन्न भएको हो । परियोजनामार्फत आठपहरिया राई समुदायको जीविकोपार्जन सुदृढीकरणसँगै प्राकृतिक पानीका मुहानको संरक्षण तथा पुनर्जीवन, स्थानीय परम्परागत ज्ञान र सीपको संरक्षण तथा वातावरणमैत्री प्रविधिको प्रयोगमा जोड दिइएको हुसाडेक नेपालका अध्यक्ष खेमराज थापाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले समुदायमा रहेका प्राकृतिक स्रोतको संरक्षणसँगै स्थानीय ज्ञान, सीप र प्रविधिलाई जीविकोपार्जनसँग जोड्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार पानीका मुहानको संरक्षण तथा पुनर्जीवनले समुदायको खानेपानी तथा कृषि प्रयोजनका लागि पानीको उपलब्धता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । परियोजनाअन्तर्गत स्थानीय समुदायलाई प्राकृतिक स्रोत संरक्षण, वातावरणमैत्री प्रविधिको प्रयोग र परम्परागत ज्ञानको महत्वबारे सचेत गराउने तथा समुदायको सहभागितामा संरक्षणका विभिन्न गतिविधि सञ्चालन गरिएको जनाइएको छ ।
समापन कार्यक्रममा परियोजनाअन्तर्गत सञ्चालन गरिएका गतिविधि, प्राप्त उपलब्धि, चुनौती, सिकाइ तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा समीक्षा गरिएको थियो । सहभागीहरूले परियोजनाका कारण स्थानीय समुदायमा प्राकृतिक स्रोत संरक्षणप्रति चासो बढेको बताउँदै परम्परागत ज्ञान तथा सीपको संरक्षण गर्दै त्यसलाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिएका थिए । आठपहरिया राई समुदायको परम्परागत ज्ञान, संस्कृति र प्राकृतिक स्रोतसँगको सम्बन्धलाई संरक्षण गर्दै आधुनिक तथा वातावरणमैत्री प्रविधिसँग जोडेर समुदायको जीविकोपार्जनमा सुधार ल्याउने प्रयास गरेको आयोजकले जनाएको छ । धनकुटामा प्राकृतिक पानीका मुहान संरक्षण तथा पुनर्जीवनका लागि समुदायको सहभागितामा विभिन्न पहल हुँदै आएका छन् । यस्ता कार्यक्रमले पानीका मुहान संरक्षणसँगै स्थानीय समुदायको वातावरणीय सचेतना अभिवृद्धि र जीविकोपार्जन सुधारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


