इटहरी। झापाको बिर्तामोड नगरपालिका–४ अन्नपूर्ण चोकमा बुधबार बिहान भएको आगलागीबाट दुईवटा फर्निचर उद्योग तथा सोरुम पूर्णरूपमा जलेर क्षतिग्रस्त भएका छन्।

प्रहरीका अनुसार आगलागी १३ः०४ बजे पूर्णरूपमा नियन्त्रणमा आएको छ। आगलागीबाट घरधनी देवी लिम्बुका छोरा हर्कजङ्ग सुब्बाले सञ्चालन गरेको देवी उडन फर्निचर फ्याक्ट्री एन्ड सोरुम पूर्णरूपमा जलेर क्षति भएको छ। त्यस्तै, सोही घरसँग जोडिएको कृष्णकुमारी राईको घर भाडामा लिएर दिव्याश्री अग्रवालले सञ्चालन गरेको जय ट्रेड फर्निचर फ्याक्ट्री एन्ड सोरुमसमेत पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

आगलागीका कारण पछाडि रहेका अन्य दुईवटा घरमा समेत आगोको रापले सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। आगलागीमा मानवीय मृत्यु भने भएको छैन। सामान निकाल्ने क्रममा अर्जुनधारा नगरपालिका–३ का करिब ३९ वर्षीय तिलबहादुर रम्तेल एक तलामाथिबाट हामफाल्दा दाहिने खुट्टामा चोट लागेको छ। घाइते रम्तेलको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन। विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको अनुमानित विवरणसमेत संकलन भइरहेको प्रहरीले जनाएको छ।