इटहरी । बराहक्षेत्र नगरपालिकाले आउँदो चाडबाडलाई लक्षित गर्दै नगर क्षेत्रमा बजार अनुगमनलाई तीव्रता दिएको छ । उपभोक्ता अधिकारको सुनिश्चितता, गुणस्तरीय वस्तुको उपलब्धता र मूल्यमा एकरूपता कायम गर्ने उद्देश्यले नगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी बनाएको हो।

यसै क्रममा बुधबार बराहक्षेत्र वडा नं. ६ स्थित चक्रघट्टी बजार क्षेत्रमा रहेका किराना, फेन्सी, हार्डवेयर पसल तथा होटलहरूमा विशेष अनुगमन गरिएको छ  । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ भने नियम विपरीत म्याद नाघेका सामग्री बिक्री गर्ने पसलहरूलाई जरिवाना र सचेत गराइएको छ । अनुगमन टोलीले पसल दर्ता, कानुनी प्रमाण, होटलका भान्सा क्षेत्रको सरसफाइ तथा ४० माइक्रोनभन्दा कमका प्रतिबन्धित प्लास्टिकका झोला नियन्त्रणमा लिएको नगर उपप्रमुख नन्दकुमारी सुनुवारले जानकारी दिनुभयो।

उपप्रमुख सुनुवारको नेतृत्वमा रहेको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत राधिका गिरी, प्रशासन शाखा प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य अनुसन्धान अधिकृत उज्ज्वल कोइराला, उद्योग वाणिज्य सङ्घ बराहक्षेत्रका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। प्रशासन शाखा प्रमुख तिवारीका अनुसार बजारलाई मर्यादित र उपभोक्तामैत्री बनाउन यस्ता अनुगमन कार्यलाई निरन्तरता दिइनेछ ।