इटहरी। सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट प्रहरीले ०।५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट लागूऔषध नियन्त्रणका लागि परिचालित प्रहरी टोली ९पीआईटी० र प्रहरी चौकी तरहराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पकलीबाट अमाहातर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प २७९० नम्बरको स्कुटर रोकेर जाँच गर्ने क्रममा इटहरी–१९ पटेरुवा बस्ने १९ वर्षीय अमन चौधरीलाई पक्राउ गरेको हो ।
त्यसैगरी, बराहक्षेत्र नगरपालिका–३ नयाँबस्तीबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी नडाहाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट ०।८२ ग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र–३ बस्ने १८ वर्षीय रमित राजधामी, २२ वर्षीय पुजन राजधामी र १९ वर्षीय समिर राजधामी रहेका छन् । पक्राउ परेका चारै जनालाई लागूऔषधसहित सम्बन्धित प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


