इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी, सुनसरीले सञ्चार उद्यमी तथा विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेलसहित विभिन्न क्षेत्रका १६ विधामा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विराट टेलिभिजनका प्रबन्ध निर्देशक तथा कोशी प्रेसका अध्यक्ष विकल पौडेललाई सहकारीले सम्मान गरेको हो।
संस्थाको २९औँ स्थापना दिवसका अवसरमा इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। संस्थाकी अध्यक्ष मुना प्रसाईं तिम्सिनाको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तथा सहकारीकर्मी सर्वध्वज सावा, राजेन्द्र केसरी घिमिरे, राजु दङ्गाल, पुष्कर बस्नेत , दिनेश कुमार श्रेष्ठ, योगमाया श्रेष्ठ विष्णु शर्मा नेपाल लगायत सञ्चालक समिति समाजसेवी शेरधनी हरूको उपस्थिति रहेको थियो।
स्थापना दिवसका अवसरमा संस्थाको विकास, प्रगति र समृद्धिमा योगदान पुर्याउने २८ जना ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कारोबार गरी मासिक रूपमा ‘महिनाको उत्कृष्ट सदस्य’ (Member of the Month) बन्न सफल १२ जना सदस्यलाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ।
त्यस्तै, संस्थाद्वारा आयोजित कार्यक्रममा पाँच वा सोभन्दा बढी रक्तदाता सहभागी गराउन योगदान पुर्याउने रक्तदाता तथा सदस्य, उत्कृष्ट पूर्व सञ्चालक, उत्कृष्ट वर्तमान सञ्चालक, उत्कृष्ट कर्मचारी र उत्कृष्ट बजार कर्मचारीलगायत विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो।
डाक्टर, इन्जिनियर, सरकारी अधिकृत, अधिवक्तालगायत विभिन्न पेसा तथा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई समेत समेटेर कुल १६ विधामा ६९ जनालाई सम्मान गरिएको हो।
कार्यक्रममा सम्मानसँगै विविध सांस्कृतिक गतिविधिसमेत आयोजना गरिएको थियो। सो अवसरमा चर्चित गायिका गङ्गा गौतमले सांगीतिक प्रस्तुति दिँदै उपस्थित दर्शक तथा सहभागीलाई मनोरञ्जन प्रदान गरेकी थिइन्।
सहकारीको स्थापना दिवसले संस्थाप्रति योगदान पुर्याउने सदस्य तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको सम्मान गर्दै सहकारी अभियान, सामाजिक उत्तरदायित्व र आपसी सहकार्यलाई थप प्रोत्साहन गरेको छ।


