इटहरी । सुनसरी जिल्ला अस्पतालमा विभेद र दुव्र्यवहार भोगेर बाहिरिनुपरेपछि कोशी अस्पतालको गेटमै शिशु जन्माउन बाध्य बनेकी सुनसरी, कोशी गाउँपालिका–३ निवासी २४ वर्षीया सर्मिला कुमारी सदाको घरमै पुगी कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।
अति विपन्न दलित परिवारकी सर्मिलालाई व्यक्तिगत तर्फबाट खाद्यान्न तथा आमा–बच्चाका लागि आवश्यक कपडाहरू सहयोग गर्दै राज्यमन्त्री परियारले अमानवीय घटनाप्रति गम्भीर दुःख व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भएको यो अमानवीय तथा गम्भीर लापरवाहीबारे प्रदेश सरकार र सम्बन्धित निकायमा कुरा उठाउँदै दोषी कर्मचारीमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। यता पीडित सर्मिला कुमारी सदा र उनका पति लालु सदाले भने आश्वासन मात्र नभई आफूहरूमाथि भएको ठूलो अन्यायको निष्पक्ष न्याय र आमा–बच्चाको सम्पूर्ण उपचार निःशुल्क हुनुपर्ने माग गरेका छन्।
त्यसैगरी स्थानीय अधिकारकर्मी फुलकुमारी रामले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई पूर्ण क्षतिपूर्ति सहित निःशुल्क उपचारको ग्यारेन्टी गर्न माग गर्नुभयो। उता सुनसरी जिल्ला अस्पताल इनरुवाका निमित्त प्रमुख डा. सन्तोष शाहले घटनाको छानबिन गर्न समिति गठन गरिने र प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गरिने बताउनुभएको छ ।


