इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुरस्थित वसन्त माध्यमिक विद्यालयमा विद्यालय, क्याम्पस तथा युवा लक्षित लागुऔषध नियन्त्रण् सम्बन्धी सचेतना, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला प्रहरी कार्यालय तेह्रथुम तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गुल्म हेडक्वार्टर तेह्रथुमको आयोजनामा भएको कार्यक्रमको व्यवस्थापन वसन्त माध्यमिक विद्यालयले गरेको थियो भने लालीगुराँस नगरपालिकाले समन्वय गरेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको सहभागिता रहेको थियो ।

इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक रुपेश तामाङले लागुऔषध दुव्र्यसन सम्बन्धी प्रस्तुति दिँदै किशोरकिशोरी तथा युवाहरू लागुऔषधको जोखिममा पर्ने कारण, यसको सेवनबाट स्वास्थ्य, परिवार र समाजमा पर्ने असर तथा प्रयोग, ओसारपसार र बेचबिखनमा हुने कानुनी कारबाहीबारे जानकारी गराउनुभयो । त्यस्तै, लागुऔषध नियन्त्रणका लागि प्रहरीको कारबाहीसँगै परिवार, विद्यालय, मिडिया, स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । कार्यक्रमसँगै ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ तथा नागरिक सुनुवाइ सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो । स्थानीयले आफ्ना समस्या, गुनासा तथा चासोका विषय राखेका थिए भने सम्बन्धित अधिकारीहरूले समाधानका लागि आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा विद्यार्थी तथा स्थानीय सहभागीले लागुऔषध नियन्त्रण, कानुनी व्यवस्था, सुरक्षा तथा समुदायको भूमिका लगायत विषयमा जिज्ञासा राखेका थिए । युवालाई लागुऔषधबाट जोगाउने देखि नागरिकका गुनासा प्रत्यक्ष सुन्ने सम्म वसन्तपुरमा आयोजित कार्यक्रमले सचेतना र संवाद मार्फत सुरक्षित तथा जिम्मेवार समाज निर्माणको सन्देश दिएको छ ।