इटहरी । नेपालीहरूको महान् चाड बडादशैँ सुरु भएसँगै धनकुटा बजारमा चहलपहल बढेसँगै हाट बजारमा खसी बोका किन्नेको भिड लाग्न थालेको छ ।
दशैँका लागि गाउँदेखि सहरसम्म खसी, बोका लैजाने गरिन्छ । जिल्लाका विभिन्न ठाउँमा साप्ताहिक हाट बजार लाग्ने गरेको छ भने किनमेल गर्न आउनेकोसमेत बाक्लो भिड लाग्न थालेको छ । यस्तै, धनकुटा र हिले बजारमा बिहीबार, पाख्रीबासमा शनिबार, सिधुवा र थलथलेमा बुधबार साप्ताहिक हटिया लाग्ने गरेको छ । हटियामा दशैँका लागि हटियामा खाद्यान्न, लत्ताकपडादेखि लिएर खसी–बोका, बंगुर, हाँस र कुखुरा लागायत बिक्री हुने गर्दछन् । खसी तथा बोकको मासु प्रति केजी नौ सयदेखि एघार सयसम्म बिक्री हुने गरेको छ । धनकुटा बजारका मुख्य चोक तथा पसलहरूमा किनमेल गर्न आउनेको बाक्लो भिड देखिन थालेको छ ।
दशैँ आउन केही समयअघि देखि नै बजार पसल तथा हाटबजारमा बाक्लो भिडभाड हुने गरेको छ । बजारमा खाद्यान्न, लत्ताकपडादेखि लिएर नयाँ लुगा लगाउने, मीठो मसिनो खाने सबै जना भेला भएर रमाइलो गर्ने चाडका रूपमा परिचित दशैँ व्यापार–व्यवसाय गर्नेहरूका लागि सबैभन्दा ठुलो सिजन हो । यसपालि दशैँको चहलपहल अघिल्ला वर्षभन्दा केही मात्रामा बढी भएको व्यापारीहरूको भनाइ छ । चाडवाडसँगै दैनिक उपभोग्य वस्तु आवश्यक पर्ने हुँदा किनमेलका लागि मुख्य बजार नै आउने गरेकाले भिडभाड हुने गरेको स्थानीय व्यापारीहरू बताउँछन् ।
दशैँको बेला अन्य सिजनको तुलनामा तेब्बरसम्म आर्थिक कारोबार हुने गरेको छ । एक वर्षमा हुने कारोबारमध्ये दशैँमा मात्र करिब ४० प्रतिशत कारोबार हुन्छ । अघिल्लो वर्ष जेनजी आन्दोलन र बाढीपहिरोका कारण थला परेको व्यापार क्षेत्र यस वर्ष केही हदसम्म सुधार भएको धनकुटाका मासु व्यापारी अभिषेक कार्की बताउनुहुन्छ । उहाँका अनुसार चाडपर्वमा व्यापार व्यवसायमा सुधार आएसँगै व्यापारीहरू उत्साहित भएका छन् । धनकुटा उद्योग वाणिज्य संघले विभिन्न सरोकारवालाहरूसँग आवश्यक समन्वय गरी दैनिक उपभोग्य वस्तु आयात र निर्यातका लागि समन्वय सर्वसुलभ ढङ्गले बेचबिखन गर्न आग्रह गरेको जनाएको छ ।
पसलमा अनिवार्य मूल्य सूची, सामान धेरै भण्डार तथा स्टोर नगर्न, सडेगलेका, बिक्री वितरण मिति नाघेका खाद्यान्न बिक्री नगर्न आग्रह गरिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष श्रीराम रायमाझीले बताउनुभयो । दशैँको बेला अन्य सिजनको तुलनामा दोब्बरदेखि तेब्बरसम्म आर्थिक कारोबार हुने गरेको उहाँले बताउनुभयो ।


