इटहरी। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को दुई अर्ब ५४ करोड रुपियाँ अनुदानमा विराटनगरमा निर्माण भइरहेको खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।
आयोजना सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी वितरण गर्न सकिने नेपाल खानेपानी संस्थानले जनाएको छ । निर्माणाधीन आयोजनाको शनिबार विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले निरीक्षण गर्दै विराटनगरवासीलाई शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य पूरा हुने चरणमा पुगेको बताउनुभयो । आयोजना निर्माणका क्रममा जग्गा व्यवस्थापन, सडक र विद्युत् जडानलगायतका समस्या देखिए पनि महानगरपालिकाले सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गरेको थियो ।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार आयोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको छ । विद्युत् जडानलगायत केही प्राविधिक काम बाँकी रहेकाले ती काम पूरा भएपछि नयाँ प्रणालीबाट खानेपानी वितरण सुरु गरिनेछ ।दशैंअघि नै आयोजना सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । यही बिहीबार जाइकाले आयोजना संस्थानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
हाल विराटनगरमा दैनिक करिब ९० लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । नयाँ प्रणाली सञ्चालनमा आएपछि वितरण क्षमता दैनिक एक करोड लिटरभन्दा बढी पुग्ने संस्थानले जनाएको छ । आयोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन तथा वितरण प्रणालीको क्षमता विस्तार गर्नुका साथै पाइपलाइन, विद्युत् आपूर्ति र पानी भण्डारणका संरचनासमेत सुधार गरिएको छ ।
देवकोटा चोक, तीनपैनी, मुनालपथ र विराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गरिनेछ । कोचाखाल पश्चिममा नयाँ माथिल्लो पानी ट्यांकी निर्माण गरिएको छ । संस्थानका अनुसार विराटनगरमा हाल करिब १३ हजार २०० ग्राहक छन् । नयाँ प्रणाली सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन र बढ्दो जनसंख्याको माग पूरा गर्न सहज हुनेछ ।


