इटहरी । नेपालीहरूको प्रमुख चाड विजयादशमी, दीपावलीलगायतका चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन कोशी प्रदेशमा ८ हजार १३३ जना प्रहरी परिचालन गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्व सुरक्षा कार्ययोजना–२०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लामा सुरक्षा व्यवस्था मिलाएको हो । चाडपर्वका समयमा हुन सक्ने अप्रिय घटना तथा दुर्घटना न्यूनीकरण गर्दै नागरिकलाई हर्षोल्लास, आपसी सद्भाव र भयरहित वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्न प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यात्रुको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै प्रदेशका १४ वटै जिल्लाका बसपार्क, बस स्ट्यान्ड तथा मुख्य र सहायक राजमार्गका विभिन्न ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्राका क्रममा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न, गुनासो सुनुवाइ गर्न तथा ठगीलगायतका घटनाबाट यात्रुलाई जोगाउन सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सीमानाकाबाट पटाकाजन्य विस्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा शङ्कास्पद क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरी चेकजाँच कडा पारिएको छ । त्यस्तै, बढी भीडभाड हुने स्थान, चोक तथा बजारमा सीसीटीभीमार्फत निगरानी बढाइएको छ भने आवश्यकताअनुसार ड्रोन क्यामेरासमेत प्रयोग गरिने प्रहरीले जनाएको छ ।
चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअन्तर्गत ४५३ वटा क्विक रेस्पोन्स टिम ९क्यूआरटी० परिचालन गरिएको छ । आकस्मिक घटना, झैझगडा, दुर्घटना तथा आपराधिक गतिविधिमा तत्काल प्रतिक्रिया जनाउन क्यूआरटी परिचालन गरिएको हो । सुरक्षा संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा तत्काल परिचालन गर्न १५ वटा स्ट्राइकिङ टोलीसमेत तयारी अवस्थामा राखिएको छ । त्यसैगरी, सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण गर्न ट्राफिकसहितका १७९ स्थानमा संयुक्त चेकिङको व्यवस्था मिलाइएको छ । चोरी–तस्करी तथा सीमावर्ती अपराध नियन्त्रणका लागि ८३ स्थानमा चेकजाँच तथा निगरानी गरिनेछ ।
शान्ति सुरक्षा कायम राख्न र चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ९८ वटा मोबाइल गस्ती परिचालन गरिएको छ । राजमार्गमा यात्रु तथा सवारीसाधनको सुरक्षित आवागमन र सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि २२ वटा स्कर्टिङ टोली परिचालन गर्ने व्यवस्था गरिएको छ । बजार, मेला, जात्रा तथा भीडभाडयुक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न २१५ स्थानमा पैदल गस्तीसमेत गरिनेछ । सुरक्षा निगरानी बढाउन मुख्य चोक, बजार तथा सार्वजनिक जमघट हुने स्थानमा ५०३ वटा पिकेट राखिएको छ । धार्मिक तथा पर्यटकीय स्थलमा दर्शनार्थी र पर्यटकको सुरक्षित आवागमन तथा भीड व्यवस्थापनका लागि ५० स्थानमा सुरक्षा व्यवस्था मिलाइएको छ ।
यसैगरी, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न महत्त्वपूर्ण प्रतिष्ठान र सरकारी कार्यालयका ३४ स्थानमा सुरक्षा व्यवस्था मिलाइएको छ । बैंक तथा वित्तीय संस्था, सुनचाँदी कारोबार हुने स्थान र अन्य आर्थिक कारोबारका केन्द्रमा चोरी, लुटपाट तथा ठगी नियन्त्रण गर्न ५६ स्थानमा सुरक्षा प्रबन्ध गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाट, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधिबाट जोगिन नागरिकलाई पनि सचेत रहन आग्रह गरेको छ ।


