इटहरी । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका सञ्चालक समिति अध्यक्ष अग्नि प्रसाद न्यौपानेको अध्यक्षता तथा संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक टंक प्रसाद खनालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
‘बनौँ जुनतारा साकोसमा सदस्य, बनाऔँ समुन्नत भविष्य’ भन्ने मूल नाराका साथ सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक अवस्था, सदस्य वृद्धि, आगामी कार्ययोजना तथा बजेटलगायतका विषयमा छलफल गरिएको थियो । सभामा अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्था तथा प्रगतिबारे जानकारी गराएका थिए । प्रतिवेदनअनुसार संस्थामा हाल ८२९ जना सेयर सदस्य रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा सदस्य संख्या १०।९७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, बाल बचतकर्ताको संख्या १७५ पुगेको छ भने बाल बचतमा १५।१३ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
संस्थाको कुल सेयर पुँजी एक करोड ४९ लाख ६३ हजार ४०० रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा सेयर पुँजी ५।३५ प्रतिशतले वृद्धि भएको हो। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२र०८३ मा संस्थाको कुल आम्दानी ७२ लाख ९ सय ९५रुपैयाँ ७२ पैसा रहेको छ भने कुल खर्च ५३ लाख १ हजार ९६४ रुपैयाँ ३४ पैसा रहेको छ। आयकरअघिको मुनाफा १८ लाख ९९ हजार ३१ रुपैयाँ ३८ पैसा रहेको जानकारी सभामा प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो । विसं २०६४ मंसिर ८ गते दर्ता भएको यस सहकारी संस्थाले १९ औँ वार्षिक साधारण सभासम्म आइपुग्दा सदस्यहरूको विश्वास र सहकार्यका आधारमा आफ्नो संस्थागत यात्रा अघि बढाउँदै आएको सस्थाका अध्यक्ष अग्नि प्रसाद न्यौपानेले बताए ।
सभामा प्रमुख अतिथि टंक प्रसाद खनालले सहकारीले समुदायमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै सहकारीका नीति, नियम तथा विधिसम्मत प्रक्रियाको पालना गरेर अघि बढे संस्थामा समस्या आउन नदिने वातावरण निर्माण गर्न सकिने बताए। उनले संस्थाको वर्तमान अवस्था सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सदस्यको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए। साधारण सभामा संस्थाका उपाध्यक्ष दुर्ग बहादुर कार्की, सल्लाहकारहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू, कर्मचारी र सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदनसँगै आर्थिक वर्ष २०८३र०८४ का लागि प्रस्तावित कार्ययोजना तथा बजेटसम्बन्धी प्रतिवेदन पनि सभासमक्ष प्रस्तुत गरिएको थियो। साथै, संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्य, नयाँ सदस्य थप्न योगदान पुर्याउने सदस्य, उत्कृष्ट विद्यार्थी, ज्येष्ठ एकल महिला, पूर्वपदाधिकारी, कर्मचारी तथा एकल महिला उद्यमीलगायतलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रमसमेत राखिएको थियो। सदस्यहरूको आर्थिक तथा सामाजिक विकासलाई केन्द्रमा राख्दै सहकारीको संस्थागत सुशासन, सदस्य विस्तार र बचत प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सभा सम्पन्न भएको हो।


