इटहरी । मौलिक स्वाद, संस्कृति र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचामा असोज २५ देखि कात्तिक १० गतेसम्म ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजना तथा सुन्दर होटल पर्यटन व्यवसायी सङ्घको सह–आयोजनामा विराटचोकस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन हुने उक्त फेस्टिभलमा दुई लाखभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । फेस्टिभलमा चर्चित गायक राजेशपायल राई , सविन राई लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । मौलिक नेवारी परिकार, कृषि तथा घरेलु उत्पादन प्रदर्शनीका लागि फेस्टिभलमा १४ वटा व्यावसायिक र ६ वटा निःशुल्क स्टल राखिनेछन् ।
सङ्घका अध्यक्ष नारायण कार्की, संयोजक ज्ञानप्रसाद ढकाल र महासचिव हरि कार्कीका अनुसार फेस्टिभललाई स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धनको साझा मञ्च बनाइनेछ । कार्यक्रम अवधिभर सुरक्षा, सरसफाइ, पार्किङ र भीड व्यवस्थापनलाई उच्च प्राथमिकता दिइने आयोजकले जनाएको छ । अनुमानित एक करोड दुई लाख रुपैयाँ आम्दानी र ८७ लाख रुपैयाँ खर्च भई १५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ ।
नेपालीरिका होटल मुख्य प्रायोजक रहेको यस महोत्सवमा पाथीभरा फुड प्रोडक्ट लगायतका स्थानीय संघ–संस्थाहरू प्रायोजकका रूपमा रहेका छन्। चाडपर्वको अवसरमा हुने यस फेस्टिभलले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।


